“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Wednesday, October 2, 2013

साताको कविता - तुलसी घिमिरे

तुलसी घिमिरे प्रायश: गीतमा कलम चलाउन मन पराउने मकवानपुरका काव्यिक हस्ताक्षर हुन् । यिनी साहित्य सङ्गम मकवानपुरका हालको कार्यसमितिका सल्लाहकार पनि हुन् । लेखनीमा सरलताकै उद्भव गराउने यिनको मकवानपुरमा लामो साहित्यिक क्रियाशीलताको अवधी रहेको छ । विशेषतः प्रकृतिजन्य बिम्ब र प्रतीकहरुमा आफ्नो रचनाहरुको सम्प्रेषण गर्ने घिमिरे समयसचेत लेखनमा विश्वास गर्छन् । यिनै कविको कवितालाई भूमध्यरेखाको यो अङ्कमा समावेश गरेका छौँ ।
पहाड, म र चराहरु


मेरो गाउँलाई चरप्प काखमा च्यापेर
सिनित्त सुतेको छ पहाड
यो दुख्याहा  ठाउँमा
यो निर्जन गाउँमा
पहाड छ
म छु
र छन् चराहरु
थोप्लाथोप्ली खस्छ घाम पराले गुन्द्रीमा
रातीमा छ्याङ्गै देखिन्छ जूनतारा
सुरलिँदै धुरीखाँबोबाट
सलल बग्छ पानी मझेरीमा
दाँत झरेको बुढो जाँतो
हाँसिरहेको छ पिँढीमा
मुसल फुस्केको अपाङ्ग ढिकी
लडिरहेको छ पालीमा
डोकाको मुख जालोले तुनेर
सिकार खेल्न आतुर छ माकुरो
गुँड  लगाउन तल्लीन छ भँगेरो
हेर्छु माथि काफले डाँडोमा
भोका बाँदरहरु मकै खोज्दै छन्
सुगाहरु ढोड चिथोर्र्दै छन्
मैले जुरे गोरु जोतेको पाटोमा
झ्याँगिएको छ सिस्नो र तीतेपाती
रुखहरु घाँसका भारी बोकेर
ठिङ्ग उभिएका छन्

पहाडमा
गएको रात पटक्कै निद्रा परेन
कोल्टे फेर्दै रात गयो
सपनामा दौँतरीहरु आए
मादल बजाए
दोहोरी गाए
रातभरि रमाइलो गरे
मुख सुकेर प्याकप्याक भएछ
ओहो कति डरलाग्दो सपना
यस्तो सपना
मैले यो पहाडमा
आज अघि कहिल्यै देखेको थिइनँ
कहिले म भीरबाट खस्छु
कहिले म पहाडैपहाड दौडिन्छु
अब धेरै बाँचिन्न कि के हो ?
यो निखुर्को हिउँद काटिन्न कि के हो ?
कि मलाई कालले लान्छ
कि मलाई अनिकालले खान्छ
अब म यो पहाडमा ढल्छु कि क्या हो ?
माटो जस्तै भएर भतक्कै गल्छु कि क्या हो ?
कसले पिलाउला एक तुर्को पानी ?
कसले देला एक फ्वाँक ओखती ?
कसले लैजाला खटमा कसेर ?
कसले  फुक्ला शङ्ख मेरो अगाडि ?
कोही हुन्न कि क्या हो ?
हे देवी देउराली
हे पाटी पौवा चौतारी
म मरेँ भने वनफूल टिपेर चढाइदिनू
पाती चुँडेर लगाइदिनू
अरुले सोधे म मरेँ भन्दिनू
यो घामपानीको जिन्दगीलाई
यो हाडछालाको शरीरलाई
कि ठुँग्छ मलाई सिमले चराले ?
कि टोक्छ मलाई बुढी कमिलाले ?
कि पार्छ औँशा मेरो मुखमा ?
कि लतार्छ गोडा स्यालले ओढारमा ?
बैगुनीहरुले छोडेर गए
निर्मोहीहरुले मायाँ मारेर गए
कोही उडेर गए
कोही गुडेर गए
आज गाउँमा पहाड छ
म छु
र साथी छन् चराहरु
म यो पहाडको अस्ताउँदो घाम भएँ
खोटो नचल्ने दाम भएँ
मलाई पहाडले कैदी बनायो
म देखाउन सक्दिनँ  माटो निचोरेर
म बताउन सक्दिनँ छाती चिरेर
मेरो मायाँ यो पहाडमा धेरै धेरै अग्लो छ
आकाशभन्दा उचो छ
समुन्द्र भन्दा गहिरो छ
आज पहाड मसँग हा¥यो
म पहाडसँग हारेँ
पहाडमा आज हामी दुई हरुवा छौँ
हामी उस्तै पानी मरुवा छौँ
यो पहाडमा मेरो सालनाल गाडिएको छ
यो माटोमा मेरो  रगत पसिना भिजेको छ

आज आकाश फनफनी नाच्न थाल्यो
पहाड पनि उसैउसै घुम्न थाल्यो
साँचो हो कि झुठो हो
यो सपना हो कि विपना हो
चराहरुबोलेको सुन्छु
मान्छेहरु खोकेको सुन्छु
ढिकी पनि कुटेझैँ लाग्छ
जाँतो पनि पिसेझैँ लाग्छ
ए १ साहिँली
ए १ माहिली
ए १ धने
ए १ वीरे
तिमीहरु छौ कि नाइँ ?
यो गाउँमा कोही उडेर गए
कोही गुडेर गए
आज म पहाडमा छु
पहाड छ
र साथी छन् चराहरु

—  हेटौँडा २

No comments:

Post a Comment