पहाड, म र चराहरु
मेरो गाउँलाई चरप्प काखमा च्यापेर
सिनित्त सुतेको छ पहाड
यो दुख्याहा ठाउँमा
यो निर्जन गाउँमा
पहाड छ
म छु
र छन् चराहरु
थोप्लाथोप्ली खस्छ घाम पराले गुन्द्रीमा
रातीमा छ्याङ्गै देखिन्छ जूनतारा
सुरलिँदै धुरीखाँबोबाट
सलल बग्छ पानी मझेरीमा
दाँत झरेको बुढो जाँतो
हाँसिरहेको छ पिँढीमा
मुसल फुस्केको अपाङ्ग ढिकी
लडिरहेको छ पालीमा
डोकाको मुख जालोले तुनेर
सिकार खेल्न आतुर छ माकुरो
गुँड लगाउन तल्लीन छ भँगेरो
हेर्छु माथि काफले डाँडोमा
भोका बाँदरहरु मकै खोज्दै छन्
सुगाहरु ढोड चिथोर्र्दै छन्
मैले जुरे गोरु जोतेको पाटोमा
झ्याँगिएको छ सिस्नो र तीतेपाती
रुखहरु घाँसका भारी बोकेर
ठिङ्ग उभिएका छन्
पहाडमा
गएको रात पटक्कै निद्रा परेन
कोल्टे फेर्दै रात गयो
सपनामा दौँतरीहरु आए
मादल बजाए
दोहोरी गाए
रातभरि रमाइलो गरे
मुख सुकेर प्याकप्याक भएछ
ओहो कति डरलाग्दो सपना
यस्तो सपना
मैले यो पहाडमा
आज अघि कहिल्यै देखेको थिइनँ
कहिले म भीरबाट खस्छु
कहिले म पहाडैपहाड दौडिन्छु
अब धेरै बाँचिन्न कि के हो ?
यो निखुर्को हिउँद काटिन्न कि के हो ?
कि मलाई कालले लान्छ
कि मलाई अनिकालले खान्छ
अब म यो पहाडमा ढल्छु कि क्या हो ?
माटो जस्तै भएर भतक्कै गल्छु कि क्या हो ?
कसले पिलाउला एक तुर्को पानी ?
कसले देला एक फ्वाँक ओखती ?
कसले लैजाला खटमा कसेर ?
कसले फुक्ला शङ्ख मेरो अगाडि ?
कोही हुन्न कि क्या हो ?
हे देवी देउराली
हे पाटी पौवा चौतारी
म मरेँ भने वनफूल टिपेर चढाइदिनू
पाती चुँडेर लगाइदिनू
अरुले सोधे म मरेँ भन्दिनू
यो घामपानीको जिन्दगीलाई
यो हाडछालाको शरीरलाई
कि ठुँग्छ मलाई सिमले चराले ?
कि टोक्छ मलाई बुढी कमिलाले ?
कि पार्छ औँशा मेरो मुखमा ?
कि लतार्छ गोडा स्यालले ओढारमा ?
बैगुनीहरुले छोडेर गए
निर्मोहीहरुले मायाँ मारेर गए
कोही उडेर गए
कोही गुडेर गए
आज गाउँमा पहाड छ
म छु
र साथी छन् चराहरु
म यो पहाडको अस्ताउँदो घाम भएँ
खोटो नचल्ने दाम भएँ
मलाई पहाडले कैदी बनायो
म देखाउन सक्दिनँ माटो निचोरेर
म बताउन सक्दिनँ छाती चिरेर
मेरो मायाँ यो पहाडमा धेरै धेरै अग्लो छ
आकाशभन्दा उचो छ
समुन्द्र भन्दा गहिरो छ
आज पहाड मसँग हा¥यो
म पहाडसँग हारेँ
पहाडमा आज हामी दुई हरुवा छौँ
हामी उस्तै पानी मरुवा छौँ
यो पहाडमा मेरो सालनाल गाडिएको छ
यो माटोमा मेरो रगत पसिना भिजेको छ
आज आकाश फनफनी नाच्न थाल्यो
पहाड पनि उसैउसै घुम्न थाल्यो
साँचो हो कि झुठो हो
यो सपना हो कि विपना हो
चराहरुबोलेको सुन्छु
मान्छेहरु खोकेको सुन्छु
ढिकी पनि कुटेझैँ लाग्छ
जाँतो पनि पिसेझैँ लाग्छ
ए १ साहिँली
ए १ माहिली
ए १ धने
ए १ वीरे
तिमीहरु छौ कि नाइँ ?
यो गाउँमा कोही उडेर गए
कोही गुडेर गए
आज म पहाडमा छु
पहाड छ
र साथी छन् चराहरु
— हेटौँडा २
No comments:
Post a Comment