श्रीराम पाण्डे
आज पनि दिन उघ्रिएन– लगातार तीन चार दिनदेखि धुम्मिइरहेको दिन उसको मनजस्तै आज पनि अँध्यारै भयो । पानी पर्न खोजेर पनि पर्न नसक्ने र घाम पनि लाग्न नसक्ने । कहिलेकाहीँ त मौसम पनि मान्छेकै मनसँग ठ्याम्मै मिल्न सक्ने– कस्तो गजब । निक्कै अगाडि पनि यस्तैगरी दिन धुम्मिएको थियो र मन पनि । त्यसबेला त ऊ भर्खरको युवक थियो, जे भन्यो त्यही गर्न सक्ने । विचारधारा पनि उसको राम्रै थियो जनतासँग मेल खाने ।
अर्काको दुःख राम्ररी बुझ्ने । परन्तु त्यसबेला उसको घरगृहस्थी राम्रै थियो– एउटा सानो परिवार, उसको सानो संसार । त्यसबेला उसकी स्वास्नी थिई मनमती । जिन्दगीभरि साथ दिने वाचा गरेर भिœयाएको थियो । वाचा र बन्धनले मात्र जिन्दगी बित्न कहाँ सक्छ र ? वाचाबन्धनका मर्यादा पनि राख्न सक्नुपर्दोरहेछ । मर्यादाहीन जिन्दगी वास्तवमा जिन्दगी नै होइन रहेछ । निस्सार, तुच्छ र निरस हुँदो रहेछ त्यस्तो बँचाइ । अनेकौँ अभिलाषालाई भित्री हृदयमा साँचेर निरन्तर सम्बन्ध राम्रो पारेर बाँच्न चाह्यो उसले । मनमतीसँग राम्ररी जीवन बिताउन चाह्यो उसले तर खोइ के भयो के ? मनमती र उसको ग्रहै मिलेन । जत्ति प्रयास गरे पनि सकेन, हार खायो उसले । अनि उसले मनमतीलाई झुठा दोषहरु लगाउन थाल्यो । माया गर्दागर्दै पनि पिट्न लाग्यो । मनमतीले राम्ररी घर नगरोस् भन्ने उद्येश्य लिएर उसले मनमतिलाई ताडना दियो, मानसिक र शारीरिक । यस कार्यले मनमतीले घुर्की मात्र सहनुप¥यो । एक दुई पटक त हो परन्तु उसको लगातारको यस्तो व्यवहारले मनमतीको मन कुँडियो र उसको ताडना सहन नसकेर उसकी स्वास्नीले सधैँको लागि छोडेर गई । हो त्यसबेला पनि उसको मन आजै जसरी धुम्मिएको थियो । त्यसबेला उसले स्वास्नीसँग माफी मागेको थियो परन्तु निष्ठुर मन भएकी उसकी स्वास्नीले उसलाई माफी दिइन । यसरी उसको र उसकी स्वास्नीको सम्बन्ध विच्छेद भयो । सदासदाका लागि उनीहरु छुट्टिए । मनमतीसँगै जिन्दगी बिताउने उसको विचार सिसाझैँ फुट्यो र चकनाचुर भयो । त्यसपछि त्यो जोडिएर सिङ्गै ऐना बन्नुजत्तिकै असम्भव भयो उसको र मनमतीको मिलन । फुटेका सीसाका टुक्रा जोडेर सद्ये ऐना हेर्ने उसको रहर कहिल्यै पूरा भएन । निरश र निराश भएर ऊ अलमल्लतामा बाँच्न विवश भयो ।
मान्छेको जिन्दगीमा घटनाहरु परी आउँछन् नै । शोषण, अन्याय र अत्याचार व्याप्त यो संसारमा मान्छेले जन्मजात केही दुर्गुणहरु लिएर आउने भएता पनि पछि गएर संसारको परिवेशमा आÇनो जाति, समाज, र राष्ट्रलाई दाँज्दा विभिन्न कुराको फरक पाउँछ । फलस्वरुप उसले आफैँभित्र रहेका त्यस्ता दुर्गुणहरु सित बलियोसित लड्नुपर्छ र पराजित गर्नुपर्छ– त्यस्ता दुर्गुणहरुलाई । त्यस्तै दुर्गुणहरुको सिकार भएर उसले मनमतिलाई दोष लगाएको थियो । उसलाई मनपरी गरे पनि हुन्छ भन्ने ठानेको थियो । यदी उसले त्यसबेला राम्ररी सोचेको भए मनमतीलाई एउटी गतिली स्वास्नीमान्छे बनाउन सक्थ्यो । नारीको हकहित र इज्जत तथा मुक्तिका लागि समाजका कुरीति, कुसंस्कारसँग तगडा भएर जुध्न सक्ने जुझारु नारी । अनि त्यसबेला मात्र उसको र मनमतिको जोडी राम्रो बन्थ्यो होला । तर उसले त्यसबेला स्वास्नीलाई जीवनसाथी नठानेर शुद्ध सुखसयलको साधनमात्र मान्यो । कति आश्चर्य संसारकै सृष्टिको स्रोत महान् नारीलाई दासीतुल्य ठान्नु उसको कस्तो भूल थियो ? हरे १ त्यो भूल उसले त्यतिबेला थाहा पाएको भए मनमतीको आदर गथ्र्यो होला । त्यसैले उसलाई लाग्छ मर्यादाहीन जिन्दगी वास्तवमा जिन्दगी नै होइन । ममताकी अजस्र स्रोत नारीलाई सधैँ चिनेको भए उसले आज पछुताउनु पर्ने थिएन । नारी अशिक्षित छ भनेर उसलाई शिक्षित बनाउन नखोज्नु के पुरुषको ठूलो भूल होइन र ? युगौँदेखि थिचिएकी नारीलाई अझै थिच्न खोज्नु कहाँ सम्मको अत्याचार होला । यस्तो अशोभनीय काम गर्दा पनि उसलाई लाज लागेन किनभने उसलाई समाज र परम्पराले सिकाएको काम त गरेको थियो नि । आजपनि उसको मन अँध्यारो बनाउने वातावरण सिर्जना भएको उसकै सम्झनाले हो । आज उसलाई पछुतो भइरहेको छ । नारीमुक्तिको निमित्त ,अन्याय अत्याचारको विरुद्ध , शोषणको विरुद्ध लड्न उसकी मनमतीले साथ दिन सक्थी । उसमा पनि लोग्नेमान्छे सरह नै दुई सद्धे हात र दुई खुट्टा थिए नि । अनि ऊ आत्माभिमानी पनि त थिई नि । यदि त्यसबेला उसलाई सम्झाइदिएको भए ऊ पनि एउटा क्रान्तिकारी बन्ने थिई । जनताको निमित्त बाँच्न र मर्न सिक्ने थिई उसले । परि आए ऊ पनि ऊजस्तै योद्धा बन्ने थिई , उसैकी सहयोद्धा । अनि आज त्यसैले पनि उसको मन धमिलिएको छ । एकपत्र बादलले ढाकेको छ उसको मनमगजलाई । तर्कनाहरु मनमा खेलाउँदा खेलाउँदै ऊ घरको आँगनमा पुग्छ । विश्रामको निमित्त थाकेका उसका गोडाहरु हतार हतार घरभित्र पुग्छन् । घरभित्रको वातावरणले ऊ एक्कासि तर्सिन पुग्छ । एउटी सत्र अठार वर्ष जत्तिकी तरुनी केटी उसको घरमा आरामसित बसिरहेकी, उसको छोरो ऊसँगै बसेर कुरा गरिरहेको ऊ देख्छ । उसलाई देख्नासाथ उसको छोराले भन्छ– ‘ऊ बुवा आउनुभयो ।’
त्यो केटी हत्तपत्त उठ्छे ? उसका बुढा आँखाले उसलाई ठम्याएर चिन्न नपाउँदै त्यस केटीले केही झुकेर उसलाई नमस्ते गर्छे । उसलाई कताकता मनमतीको झल्को लाग्छ । ऊ अकमकिन्छ । अनि अड्कीअड्की भन्छ– ‘...तिमी ? ...तिमी को ? ...मैले त चिन्न सकिन नि ?’
‘मलाई चिन्नुभएन बुवा ? म हजुरकी छोरी...सानी । मुवासँग मावलमै थिएँ नि म त ।’
ऊ झल्याँस्स हुन्छ अनि एकचोटी ऊ आफैँ सिरिङ्ग हुन्छ । उमेरले त्यत्ति बुढो नभए पनि उसका आँखा निकै कमजोर भइसकेछन् । पन्ध्र सोह्र वर्ष अगाडिको कुरा पनि बिर्सिसकेछ उसले । यहाँसम्म कि आफैँले खेलाएकी, हुर्काएकी, छोरीलाई पनि नचिन्ने भएछ ऊ । अनि ऊ एक तमाससँग त्यस केटीलाई हेरिरहन्छ । हेर्दाहेर्दा ऊ उसको अगाडि सानी बालिका भएर देखा पर्छे । घाँघर लाउने, हाँस्तैहाँस्तै आँगनमा नाच्ने सानी केटी । ऊ कति माया गथ्र्यो उसलाई त्यसबेला । उचालेर हावामा फाल्थ्यो । म्वाइ खान्थ्यो र रमाउँथ्यो । उही छोरी आज चिन्नै नसक्ने भइछ । समय निकै बितेछ । ऊ आफैँलाई आज आफू निकै बूढो भएको अनुभव भयो ।
‘किन जिल्ल पर्नुभयो बुवा’ ऊ झस्किन्छ साथै सम्हालिन्छ पनि । अनि भन्छ–‘बस न
छोरी ।’ आज्ञापालन गरेर ऊ बसिदिन्छे । वातावरण मौन भइदिन्छ ।
‘बहिनी अब यहीँ बस्ने गरी आएको रे बुवा’ –उसको छोराले भन्छ । अब त हाम्रो कार्यक्रम झन् राम्ररी चल्ने भयो । बहिनीसित निकै बेर कुरा गरेँ –उनको विचार पनि हाम्रै जस्तो रहेछ । सामाजिक कुसंस्कार , रुढिवाद र कुपरम्पराविरुद्ध लड्ने र जनताको मुक्तिका निम्ति काम गर्ने भन्ने रहेछ । मुवा भन्नुहुन्थ्यो रे । ’ उसको छोरो अड्किएर उसको मुखमा हेर्छ । ऊ अनायासै सोध्न पुग्छ –‘मुवा के भन्थी रे ?’
‘अँ मुवाँ भन्नुहुन्थ्यो रे जिन्दगी कस्तो हुनुपर्छ भन्ने कुरा मैले त्यतिखेर बुझेकी भए घर छोड्ने थिइनँ होला । सकभर सम्झाएर भएपनि उहाँलाई राम्रै बाटोमा लगाउँथे होला । तर जे हुनु भयो अब अफसोस गरेर फाइदा नै के छ र ? ’
‘मुवाले सन्चोबिसन्चो सोधी पठाउनुभाको थियो ।’ उसकी छोरीले भनेको कुरा ऊ सुन्छ । ‘यदि बुवाले मुवालाई माफी दिनुभएमा मुवाले पनि घर आउँछु भन्नुभएको छ । उहाँको विचार पनि हामीसित मिल्छ ,उहाँ पनि देश र जनताको निम्ति मरिमेटिन तयार हुनुहुन्छ । ’
कुन्नि किन हो उसका बुढा आँखामा पनि एकचोटी चमक आउँछ । यस्तो बिडम्बना देखेर उसले रोक्दारोक्दै पनि क्षीण हाँसोको रेखा उसको ओठमा देखिन्छ ।
आखिर मान्छेको जिन्दगी क्षणिक छ । मान्छेले एकले अर्कोलाई विश्वास गर्नुपर्छ । मेरो भनाइको मतलब समान वर्ग र स्तरमा समान किसिमको व्यवहार गर्नुपर्छ । लोग्नेस्वास्नी बीचमा पनि अविश्वासले गर्दा ठूलो भड्खारो पार्न सक्दोरहेछ ।‘ तिमीहरुकी आमाले पनि राम्ररी बुझिछ, बेस भयो । अर्काको सम्पत्ति क्षणिक हुन्छ –त्यस्तो एकछिनमै हराउन सक्ने सम्पत्तिमा कसैले घमण्ड गर्नु राम्रो कुरा होइन । त्यसमाथि एउटा थिचिएको मान्छेले अर्को थिचिएकै मान्छेलाई झन् थिच्नु त झन हुँदैन । तिमीहरुकी आमाले माइतीको सम्पत्तिको र मैले पुरुषको अभिमान छोड्न सकेको भए यो स्थिति आउने नै थिएन र हामी आज अर्कै किसिमले बाँचिरहेका हुने थियौँ । ...तर ढिलै भए पनि त्यो बँचाइ बाँच्दै छौँ –जुन बँचाइको म सँधै आशा राख्थेँ ।’ –ऊ चुप लाग्छ । ‘उसो भए म मुवालाई लिन जाऊँ त बुवा ?’– उसको छोराले सोध्छ –‘आखिर हामी सबैको विचार र मन एकै भएपछि केभो र ?’ ‘हुन्छ – भोलि नै लिन जानु बाबु । अब हामीले हाम्रो शक्तिलाई छरिएर जान दिनु हुँदैन । त्यसै बग्न दिनु हुन्न । हुन त हाम्रो उमेर गयो । जवानीमा हामीले केही गर्न सकेनौँ । हाम्रो त जवानी त्यसैत्यसै बितेर गयो तर यो बुढेशकालमा पनि देश र जनताको निम्ति केही गरिहालूँ भन्ने भावना हृदयमा अटेसमटेस गरेर आइरहेछ । देशभरि जनजागृतिको लहर चलेको छ । तिमीहरु पनि आफ्नो बुद्धि र शक्तिले भ्याएसम्म देश र जनताको भलो हुने पुनित काममा लागि राख । अन्याय, अत्याचार, र शोषणको विरुद्धमा सधैँ आवाज उठाउनू । आफ्नो कर्तव्य ठान र हामी पनि बाँकी जिन्दगीलाई त्यही महान कार्यमा लगाउँछौँ । ’–ऊ उठ्ताउठ्तै भन्छ –‘बाबु बहिनीलाई खानपिनको प्रबन्ध मिलाइदिनू । उसलाई आजदेखि त्यो खालि कोठामा ओछ्यान लगाइदिनू । म सुत्न गएँ । ’
‘बुवाले भान्सा गर्नुहुन्न ? ’–छोराले सोध्छ ।
‘मैले आज काम गरेकै ठाउँमा खाएर आएँ । मलाई थकाइ लागेको छ । म सुत्छु । सायद् आज म राम्ररी निदाउन सकूँला धेरै वर्षपछि ।’ ऊ चोटातिर लाग्छ । रात बिस्तारै बढ्दै जान्छ । ऊ बत्ती नबालीकन ओछ्यान झारझुर पारेर पल्टिन्छ । कुन्नि कस्तो उकुसमुकुस उसको मनमा भइरहन्छ , मनमतीको आगमनको त्यस्तै स्वतन्त्रता र मुक्तिको र भोलिको सुनौलो प्रतीक्षा गर्दै ऊ सुत्छ ।

No comments:
Post a Comment