“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Wednesday, October 2, 2013

जनताले कम्युनिस्ट हेरिसके, अब हामीलाई रोज्छन् - मधु अधिकारी

मधु अधिकारी, राप्रपा नेपालका केन्द्रीय सदस्य हुन् । राष्ट्रवादी क्लबबाट समाजसेवा गर्दै उनी २०४१ सालतिर राजनीति क्षेत्रमा प्रवेश गरेका हुन् । २०४७ सालमा युवक सङ्गठनको सभापति, २०४९ मा पार्टीको जिल्ला सदस्य २०४९ मै नगर अध्यक्ष, २०५३–०५४ देखि पटकपटक पार्टी सचिव समेत भई राजनीतिमा  सक्रिय रहेका अधिकारीले २०६०÷०६१ मा हेनपाका मेयरमा मनोनीत  उनी ११ महिना  रहे । त्यस्तै २०६२ मा तत्कालीन शाही सरकारले गरेको निर्वाचनमा जितेर ३ महिना  थप मेयर भए । २०६४ सालदेखि स्वतन्त्र जीवन बिताइरहेका अधिकारी हाल फेरि पार्टीकै राजनीतिमा सक्रिय छन् ।  इमानदार तथा प्रभावशाली नेताका रुपमा परिचित अधिकारीसँग राम अविकासले गर्नुभएको कुराकानी :

संविधानसभा निर्वाचनका लागि सबै दलले आफ्ना उम्मेदवार छानिसके, तर राप्रपा नेपालको चाहिँ किन ढिलाइ ?
        पार्टीभित्र आन्तरिक छलफल चलिरहेकै छ । हामी छिट्टै
टुंगो लगाउँछौँ ।

 उम्मेदवारीको विषयलाई लिएर केही मतभेद छ ?
        राप्रपा नेपालभित्र कुनै विवाद छैन । हामी सर्वसम्मत उम्मेदवारको चयन
गर्छौँ । विवाद बरु अन्यत्र छ, तर हामीभित्र त्यस्तो कुनै मतभेद छैन ।
नेकपा–माओवादीले घोषितरुपमै चुनाव बिथोेल्छौँ भनिरहँदा भयरहित वातावरणमा चुनाव हुन सक्ला ?
        यो वास्तवमा चार दलको निषेधको राजनीतिले गर्दा निश्चय नै पनि निर्वाचनका लागि सहज वातावरण बनिरहेको छैन । वैद्यलगायतका राजनीतिक दलहरु निर्वाचनको प्रक्रियाभन्दा बाहिर रहेका छन् । हाम्रो पार्टी के भनिरहेको छ भने संविधानसभा जस्तो ऐतिहासिक निर्वाचनमा सबैलाई समेट्नुपर्छ । यसका लागि चार भन्दा पनि राष्ट्रपति वा अहिलेका सरकार प्रमुखले यसको अग्रसरता लिनुपर्छ । तर उनीहरु आउन नसक्नुका पछाडि चैँ चारदलको सिन्डिकेट र निषेधको राजनीति नै प्रमुख रुपमा जिम्मेवार छ ।

चुनाव साँच्चिकै बिथोलिएला त ?
        उहाँहरुको अहिलेको रणनीति हेर्दा वार्ता र वहिष्कार दुबै चलिरहेको छ । अब चुनावको माहौल बनिसकेपछि चाहिँ यो वहिष्कारको कुरा हुन गाह्रो हुनसक्छ । तर हाम्रो अनुरोध उहाँहरुलाई के हो भने अहिलेको अवस्थामा हाम्रा पनि कतिपय असहमति छ, चारदलको सर्वसत्तावादको एक खालको विषय छ त्यसमा हाम्रा पनि असमझदारी छन् । यति हुँदाहुँदै पनि यसलाई निर्वाचन मार्फत जनतामा लिएर जाऊँ भन्ने हाम्रो अडान हो र हामी वैद्यजीहरुलाई पनि यसमा सहभागि हुन आग्रह गरिरहेका छौँ । चित्त नबुझेका कुरा निर्वाचनमार्फत राख्नु नै बढी उत्तम होला ।
भनेपछि वैद्य पक्षले चुनाव विथोल्न खोजे पनि चुनाव हुन्छ, संविधान बन्छ भन्ने आधार छन् ?
        पहिलो कुरो त, हिजो संविधानसभाबाट किन संविधान बन्न सकेन ? प्रश्न त्यहाँ छ । र अब पनि हामीले मतदान गर्दा संविधान बनाउन नसक्ने त्यही पात्र र नीतिलाई चयन गर्ने हो भने फेरि असफलताको नै निरन्तरता हुन्छ । त्यसैले अब जनताले मत दिँदा संविधान बनाउन सक्ने त्यही खालको विचारलाई मत दिनुपर्छ भन्ने हाम्रो अपिल हो ।
खिलराज सरकारको विकल्प छैन भन्छन् दलहरु । सबै दललाई समेटेर एउटा सर्वदलीय संयन्त्र त बनाउन सकिन्थ्यो नि, त्यसमा दलहरुले किन रुचि नदेखाएका होलान् ?
        वास्तवमा यो चारदलको एकखालको सिन्डिकेट मात्र खारेज गरे पनि चुनावको वातावरण बन्न सक्थ्यो । तर चारदलको संकीर्ण सोच र स्वार्थको कारणले यो अप्ठ्यारो सिर्जना भैराखेको छ । एकीकृत माओवादीलाई वैद्य पक्ष चुनावमा आउँदा घाटा हुनसक्ला, एमाले काँग्रसले त्यही खालको जोड घटाउ गरिरहेको होला । भोलिको निर्वाचनको परिणाममा हामी कहाँनेर हुन्छौँ भन्ने आधारमा विश्लेषण भएको कारणले यो संकट अझ बढिरहेको छ । यो सिन्डिकेटलाई खारेज गरेर नयाँ सिराबाट सोच्ने हो भने चुनावी वातारण सहज छ ।
मकवानपुरको सन्दर्भमा निर्वाचनमा सबै दलको प्रतिस्पर्धात्मक वातावरणको अवस्था छ । सबै दलले आ–आफ्नै दाबी गरिरहँदा कस्तो परिणाम आउला भन्ने आंकलन गर्न सकिन्छ ?
        मकवानपुरको चारवटा क्षेत्रमा दुईवटा क्षेत्र १ र ३ मा हाम्रो जीत सुनिश्चित
छ । बाँकी २ र ४ मा हामी तीव्र प्रतिस्पर्धामा छौँ । झट्ट मान्छेले सुन्दा राप्रपा हिजो संविधानसभामा शून्य अवस्थाको दलको यो कुरा पत्याउन नसकिने जस्तो लाग्ला । तर हाम्रो इमानदारिता, विचार, संगठन र हिजो हामीले गरेको विकास निर्माणका कार्यक्रमलाई हेर्दा र हाम्रा कार्यक्रमहरुमा जनताको स्वस्फुर्त सहभागिताले जनताको हामीप्रतिको विश्वास बढेको छ । दुईवटा क्षेत्र कम्तिमा हामी जित्छौँ । त्यो आधार भनेको चाहिँ के हो भने एउटा आधार भनेको हाम्रो विचार । चुनाव हुनुपर्छ भन्ने नै हाम्रो एजेण्डा
हो । अर्कों जनताको सहभागिता र तेस्रो भनेको मकवानपुरको विकास निर्माणको
कार्य । राप्रपा नेपालले गरेको विकास निर्माणका कार्यपछि यो १८ वर्षमा त्योभन्दा बाहेक के नै विकास भयो र ? ्
०६२÷६३ को जनआन्दोलन दबाउन प्रमुख भूमिका निर्वाह गरेको भन्ने आधारमा हिजो कमल थापालाई जनताले धरौटी नै समेत जफत हुनेगरी पराजित गरिसकेका छन् । यस्तो अवस्थामा उनै कमल थापा वा उनले नेतृत्व गरेको दल राप्रपा नेपालले चुनाव जित्छन् भन्ने आधार त फेरि पनि देखिएन नि ?
        हिजो ०६२÷६३ पछि धेरै पानी यता बगिसकेको छ । जनता भनेको कसैको पनि पेवा होइन । हिजो माओवादीलाई जितायो भन्दैमा सधैँ त्यही नतिजा हुन्छ भन्ने
होइन । जनता परिवर्तन चाहन्छन् । हिजो उनीहरुले जुन एजेण्डा लिएर आएका थिए, त्यसलाई उनीहरुले पूरा गर्न सकेका भए उनीहरुप्रति जनताको आशा भरोसा हुन्थ्यो । तर चारदल लगायतको भूमिकाका आधारमा उनीहरुप्रति जनताको विश्वास अब
हराइसकेको छ । हामी ०६२÷६३ को अवस्थामा भन्दा पनि ज्यादा बेथितिमा छौँ । मुलुकले असफलता झेलिरहेको र राष्ट्रियता संकटमा परिरहँदा जनतामा निराशा छ । अब जनताको भरोसा भनेको राप्रपा नेपाल नै हो । जुन रोडम्यापबाट हिजो १२ बुँदेदेखि उनीहरु अघि बढिरहेका थिए, त्यो रोडम्याप नै दुर्घटनामा परिसकेको छ । अब त जनता विकल्प चाहन्छन् । त्यो विकल्प भनेको राप्रपा नेपाल नै हो जसमा जनताले भरोसा गर्न सक्छन् ।
राप्रपा नेपालको एजेन्डा भन्नुभयो, त्यो एजेन्डाचाहिँ के हो ?
        अहिले खासै ठूला पार्टीहरुले उठाएका गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता सैद्धान्तिक रुपमा नराम्रा छैनन् । तर यिनले मुलुकमा स्थिरता ल्याएन । हाम्रो सार्वभौमसत्ता पनि कमजोर हुन थाल्यो । तपाइँ हेर्नुस्, संघीयताका नाउँमा जातीय सद्भाव विथोलिएको छ । धर्मनिरपेक्षताका नाउँमा योजनाबद्ध ढंगले धर्मपरिवर्तन गर्ने र अधर्मको प्रचार गर्ने कार्य भइरहेको छ । सदियौँदेखि चलिआएको हाम्रो मूल्य, मान्यता र संस्कृतिमाथि प्रहार भइरहेको छ । समाज नै विभाजित गर्ने काम भइरहेको छ । गणतन्त्रलाई नै विवादास्पद बनाइएको छ । रुपमा हामीले राष्ट्रपति देखिरहे पनि सारमा भन्दा त्यहाँ विदेशी हस्तक्षेप बढिरहेको छ । हाम्रो राष्ट्रियता यति कमजोर भएको छ कि सन् १८१६ को सुगौली सन्धि पछि हाम्रो राष्ट्रियता यति धेरै कमजोर भएको यही कालखण्डमा नै हो । त्यसैले अहिले हामी सबै विचार अट्ने खालको मौलिक नेपाली परिवेशको प्रजातन्त्र, धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्रको कुरा गरिरहेका छौँ र अखण्डताको कुरा गरिरहेका छौँ ।
एउटा राष्ट्रियताको सवाल र अर्को धार्मिक स्वतन्त्रता सहितको हिन्दूराष्ट्र, दुईवटा मूल मुद्दा देखियो । यसबीचमा ‘राजावाद’ चाहिँ कहाँबाट आयो ?
        राजा भन्ने बित्तिकै हामीले पुरानै व्यवस्था फर्काउन खोज्यौँ, निरंकुशताकै बाटोमा राप्रपा नेपाल फर्कियो भन्ने एकखालको भ्रम फैलिएको छ । वास्तवमा त्यो खालको राजा हामीले खोजेकै होइनौँ । हामीले त खाली एउटा अभिभावकत्व ग्रहण गर्ने र राजनीतिक दलभन्दा माथि उठेको साझा राजा खोजेका हौँ । हामीले खोजेको राजा भनेको संविधान र संसदको अधीनमा रहेको प्रतीकात्मक राजा हो । राजालाई हेर्ने दुईखालका दृष्टिकोण छन् । एकखालको होलान् अतिवादी खालको जसले राजालाई ल्याइसकेपछि हामी शासनमा हुनुपर्छ भन्ने । तर हामी राजालाई ल्याएर आफू शासक हुने भन्ने खालको पार्टी होइनौँ । हामी जनतामै जान्छौँ र जनताकै प्रतिनिधिले शासन चलाउनुपर्छ ।
तपाइँहरुको नेतृत्व पङ्क्तिका केही नेताहरुको पूर्वराजासँग नजिकको सम्बन्ध रहेकै आधारमा मात्र राजतन्त्र फर्काउनका लागि लागिपरेको भन्ने आरोप छ नि ?
        राजासँग खाली सैद्धान्तिक निकटता हो । राजा फर्काएर एकलौटी गर्ने भन्ने होइन । राजा फर्र्काएर शासक बन्ने भन्ने केही होइन ।
राजतन्त्र बोकेर चुनावमा जाँदा कुनै असर पर्ने देख्नुभएको छैन ?
        छैन । राजाप्रति मान्छेको अझै ठूलो आस्था छ । राजालाई मान्छेहरु अभिभावकको रुपमै लिन्छन् र त्यो विश्वास अहिले अझ बढेर गएको छ । हेटौंडामा पनि राजा आउँदा यो कुरा देखिएकै हो । राजाको विभिन्न ठाउँको भ्रमणमा जनताको राजाप्रतिको विश्वास त स्पष्ट देखिएकै छ नि ।
भन्नेहरुले के भनेका छन् भने कमल थापाको मात्र यौटै मुद्दा छ–राजा फिर्ता गर्ने । उनले जनतासँग यो बाहेक अरु केही कुरा गरेकै छैनन् । उनले जनताका कुनैपनि सवाललाई उठाएकै छैनन् ।
        कमल थापा जनताकै बीचबाट आएका हुन् । हिजो मकवानपुरकै जनताले उनलाई जिताएर पठाएका हुन् । राजाले ल्याएका मान्छे नै होइनन् उनी । जनताका बीचमा चिनिएर जनताले नै उठाएर ल्याइदिएका हुन् । अहिलेको बहुदलीय व्यवस्थाभित्र राजा भनेको बेलायत वा थाइल्याण्ड वा अन्य मुलुकको जस्तै परिकल्पना हो ।
अहिले त परिस्थिति फेरिएको छ । ०६२÷६३ को जनआन्दोलन पछि त राजतन्त्र मुलुकबाट समाप्त नै भइसक्यो । अब ‘महादेवले सतिदेवीलाई बोके’जस्तो मृत राजालाई काँध हालेर राप्रपा नेपालले कहिलेसम्म राजनीति गरिरहने ?
        राजतन्त्र उन्मुलन नै भइसकेको भन्ने कुरामा पनि सत्यता छैन । अहिलेको अन्तरिम संविधान भनेको अस्थायी खालको संविधान हो । राजतन्त्र उन्मुलन हुनलाई त संविधानमा संस्थागत भएर संविधान जारी हुनुप¥यो नि । संविधानसभाको अवसानपछि त गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता लगायतका कुराहरु शून्यमा पुगिसके । अब बन्ने संविधानसभाले गएका कुराको स्वामित्व लिन्छ भन्ने ग्यारेन्टी छ र ? भोलि राप्रपाले दुई तिहाइ मत ल्यायाँै भने हामी त्यो कुरा मान्छौँ र ? त्यसैले हिजो गरिएको अस्थायी व्यवस्था संस्थागत नै भइसकेका छैन ।
समयको माग, युुगको आवश्यकता भन्ने पनि त होला नि ?

        यसरि बुझ्नुस्, संवैधानिक राजतन्त्रको कुरा गर्नेलाई प्रतिगामी भन्ने अनि गणतन्त्रको कुरा गर्नेलाई अग्रगामी भन्ने हो भने त हामीले सबैभन्दा पहिलो बेलायतका जनतालाई मूर्ख भन्नुप¥यो । सुडान, कंगो र अफगानिस्तानका जनतालाई चाहिँ विद्वान् भन्नुप¥यो किनकि त्यहाँ त गणतन्त्र छ नि १
हिजो आफ्ना कार्यकर्तालाई माओवादीमा भोट हाल्न भनियो, आज त्यो विचार असफल भएपछि फेरि आफूतिर तान्न खोजिरहनुभएको हो ?
        हामीले त त्यतिबेले संविधान बन्दै बन्दैन, लेखेरै राख्नुस् भनेरै भनेको । हाम्रा अध्यक्षले बारम्बार यो कुरा गर्दा सबैले उठाएकै हो । संविधानसभाको पहिलो पटक म्याद थप गर्दा कमल थापाले यो थप गर्नुको औचित्य छैन, निर्वाचनमा जाउँ भन्दा फेरि हावादारी भने । हामीले बोलेका कुरा दुई वर्षपछि मात्र अरु दललाई ठीक लाग्छन् । यही खिलराजको विषयमा नै पनि तिमिहरु राजनीतिक शक्तिहरुका बीचमा सहमति हुन सक्दैन, कि न्यायाधीश कि पूर्वन्यायाधीशको अध्यक्षतामा चुनावी सरकार गठन गरेर जानुपर्छ भन्ने कुरा ग¥यौँ र घुमिफिरि त्यही भयो । हामीले त दुई वर्ष अगाडि नै त्यो कुरा भनिसकेका थियौँ नि ।
जनताले किन पत्याएनन् त ?
        जनताले त अब पत्याउँछन्, त्यसकारण पनि हामीले अबको चुनावलाइ महत्वपूर्ण रुपमा हेरेका छौँ । म भन्दिन, तर अहिलेको सर्वेक्षहरुलाई हेर्नुस् न । अब जनताले हामीलाई पत्याउँछन् ।
कमल थापालाई कहिले यता, कहिले उता गर्ने मुसा प्रवृत्ति देखायो भन्ने आरोप लाग्यो । जिल्लाभित्र तपाईँलाई पनि कहिले पार्टी छोडेर अन्य दलमा जान बार्गेनिङ् गर्ने र आफ्नो स्वार्थ अनुकुल राजनीति गर्छ भनेर आरोप लाग्ने गरेको छ । के भन्नुहुन्छ ?
        मेरो बारेमा त म कुनै अन्य पार्टीमा लागेको छैन । सुरुवातदेखि नै म राप्रपामै छु । बीचमा संविधानसभाको निर्वाचन पछि मेरो आफ्नै घरायसी कारणले केही समय चुप लागेर बसेको हुँ । अब चुप लागेर बसेपछि राम्रो मान्छेलाई आफ्नो बनाउन सबैले पहल गर्छन् । यो सबै अरुको अनुरोध हो । अन्य दलमा जान लाग्यो भन्ने सबै हल्ला मात्र हो । त्यसमा कुनै किसिमको सत्यता छैन । मैले हिजो छोड्दा पनि वक्तव्यमार्फत जनताले राजनीतिक दलहरुलाई एउटा निर्णय दिएका छन्, उहाँहरुलाई काम गर्न हामीले बाधा पु¥याउनुहुँदैन भनेर नै छोडेको हुँ । तर उहाँहरुको असफलताकै कारण म फर्केको हुँ ।
हिजो अप्ठ्यारो परेका बेलामा पार्टी छोडेर गए, आज हामीले दुःख गरेर यहाँसम्म आएपछि फल टिप्ने बेलामा मधु अधिकारी फेरि आइपुगे भन्ने कुरा कार्यकर्ता पङिक्तमा छ ।
        हैन, म पार्टीभित्र प्रतिस्पर्धाबाटै आउने । मैले पार्टी छोडेको समयमा कोही साथी आउनुभएको छ भने पार्टीभित्रको आन्तरिक प्रजातन्त्रलाई मानेर आउने हो । होला स्वाभाविक रुपमा अप्ठ्यारो पर्दा पार्टीभित्र मलाई नदेख्दा साथीहरुलाई त्यस्तो लाग्न सक्छ, त्यसलाई मैले अन्यथा लिएको छैन । कसैको आशिर्वाद पाएर अगाडि आउने हैन कि आफ्नै क्षमताबाट हामी अगाडि बढ्ने हो ।
तपाइँले १ र ३ दुई क्षेत्रमा आफूले जित्ने दावी गर्नुभयो । बाँकि चाहिँ कसले जित्ला त ?
        संगठनका हिसाबले यहाँ हामीले एमालेलाई नै प्रतिस्पर्धिको रुपमा लिएका छौँ । माओवादीको पनि केही होला । हुन त काँग्रेसले पनि जित्ने हल्ला त गरिरहेको छ, तर काँग्रेसले चुनावै जित्नै संभावना चाहिँ देख्दिन ।
 राप्रपाले दावी गरिरहेको १ र ३ नम्बरमै काँग्रेसले पनि दाबी गरिरहेको छ । राजालाई हटाइदिने हो भने दुईटै पार्टीको सिद्धान्त पनि झण्डै उस्तै हो । अनि उही क्षेत्रहरुमा यस्तो दाबी किन हो ?


        मलाई लाग्छ, प्रजातन्त्रमा विश्वास गर्नेहरु नै दुबैका भोटर हुन् । संवैधानिक
राजतन्त्र लगायतका धेरै कुराहरुमा हिजोका दिनमा त समानता पनि हो । कम्युनिष्टलाई भोट हाल्नेहरुले काँग्रेसलाई भोट दिँदैनन्, बरु राप्रपालाई दिन्छन् । मकवानपुरको सन्दर्भमा काँग्रेस पहिलेदेखि नै कमजोर छ । काँग्रेसले जित्ने भए त ०६४ सालको संविधानसभाको निर्वाचनमै जित्नुपर्ने । त्यतिबेला हाम्रो उम्मेदवारी त उपस्थिति जनाउनका लागि मात्रै थियो । त्यो बेला त काँग्रेसले जितेन भने अहिले हामी शसक्त ढंगले
लागिरहेको बेला कसरि काँग्रेसले जित्छ ? ओमु टेम्पाको पालामा काँग्रेसको चुनावी ¥याली हेर्नुहुन्छ भने डरलाग्दो थियो, तर भोट त उही परम्परागत भोट नै आयो । त्यस कारण मकवानपुरको काँग्रेसको सम्भावना छैन ।
राप्रपा नेपालको चुनावी एजेण्डा चाहिँ के छ त मकवानपुरमा ?
        मकवानपुरको लागि मूलतः हामीले विकास निर्माणसँग जोडेका छौँ । त्यत्रो ठूलो सैद्धान्तिक कुरा गरेका छैनौँ । हामीले विकास गरेर छोडेपछि यो १८–२० वर्षमा कुनै काम हुन सकेको छैन, बरु हामीले बनाएर छोडेका विकासका कामहरु पनि जर्जर अवस्थामा पुगिसकेका छन् । सिङ्गो मकवानपुरलाई नै हेर्ने हो भने जति पनि स्कुलहरु बनेका छन्, सिँचाई, खानेपानी लगायतका यि सारा त हिजो हामीले सुरु गरेका योजनाहरु हुन् । हटिया राईगाउँको बाटो कसले बनायो ? क्षेत्रीय अस्पतालको निर्णय कसले ग¥यो ? हेटौँडामा क्षेत्रीय कार्यालयहरुको प्रस्ताव हामीले नै गरेको हो । संघीयताका सवालमा हामीले नचाहेरै पनि देश संघीयतामा गइहाल्यो भने हेटौँडालाई क्षेत्रीय राजधानी बनाउँछौँ हामी । काँग्रेस एमालेको एजेण्डामा त्यो छैन । संघीयतामा गइहालेको सन्दर्भमा कसैले काभ्रेलाई राजधानी बनाउँछु भनेका छन्, कसैले नुवाकोटलाई । तर हाम्रो प्रयास भनेको हेटौँडामै हो । उनीहरुको प्रयासमा भयो भने त भोलि हामी एउटा सिफारिसका लागि पनि पाँचखाल पुग्नुपर्ने हो कि ओखरपौवा पुग्नुपर्ने हो १ १ नम्बरमा पहिलो कुरो त अहिले यो हेटौँडा–धरान–चतरा बाटो छ, त्यसको स्तरीकरणको पहँुच हामीसँग छ । त्यस्तै ३०–३१ सालदेखि नापी भइसकेर लालपूर्जा नपाएकाहरु छन्, त्यसमा त कसैले काम गरेका छैनन् । त्यो पनि हामी गर्छौँ, नापी नभएका ठाउँमा नापी गर्ने र भइसकेकाहरुलाई लालपुर्जा दिने काम हुन्छ । त्यस्तै किसानका लागि पनि असिना, बाढीले क्षति पु¥याएका बालिको उचित क्षतिपूर्तिको व्यवस्था हामी गर्छौँ ।

No comments:

Post a Comment