आस्था केसी
हिन्दु महिलाहरुले धुमधामका साथ मनाउने चाड तीज नजिकै आइरहेको छ । परम्परागत मान्यताअनुसार तीजलाई महिलाहरु स्वतन्त्र हुने पर्बका रुपमा लिदैं आइएको छ । अझ पछिल्लो समयमा त झन् यसले बढावा पाएको छ । तीज आउनु अगाडि देखि नै ठूला ठूला होटल रेष्टुराहरुमा दर खाने, महँगा महँगा गहना र पहिरनहरु प्रदर्शन गर्ने होड नै चलेको छ । जसलाई महिलाको स्वतन्त्रताको रुपमा बुझिँदै आएको छ ।
सामान्य रुपबाट हेर्दा तीज पर्बको बेला एक दुई दिन भएपनि महिलाहरु स्वतन्त्र भएको देखिएला तर तीज पर्वलाई मनाउने जुन साँस्कृतिक परम्परा छ त्यसलाई दृष्टिगत गर्दा तीजमा महिला लाई पुरुषको दास बनाउने मान्यतालाई स्थापित गर्ने उदेश्य प्रष्टै देखिन्छ । पछिल्लो समयमा महिला स्वतन्त्रताको कुरा संग जोडेर जुन तडकभडकताका साथ यो पर्व मनाउने संस्कृति बस्दैछ । यसले यो मान्यतालाई अझै सशक्त रुपमा संस्थागत गर्ने काम गरेको छ ।
तीजको सांस्कृतिक आधार नै महिला विरोधी छ । पुरुषको दीर्घायूको कामना गर्दै दिनभरि भोकै प्यासै ब्रत बस्नुपर्ने, पुरुषलाई देवता मानेर पुज्नु पर्ने, पुरुष पहिलो दर्जाको मानिस हो भने महिला दोश्रो दर्जाको मानिस हो, पुरुष सधैं सर्वश्रेष्ठ हो र महिलाले पुरुषको सेवा गर्नुपर्छ भन्ने मान्यताबाट यो चाड प्रेरित छ । आज महिला स्वतन्त्रताको नारा उराल्दै श्रीमान्को कामनामा ब्रत बस्ने, श्रीमान् सँग हारगुहार गरी महँगामहँगा वस्त्रहरु लगाउने र आफूलाई स्वतन्त्र महसुस गर्ने जुन सहरिया शिक्षित संस्कार बन्दै छ यसले दिनानुदिन महिलालाई परनिर्भरताको जंजीरले बाँध्दै लगिरहेको छ ।
तीजलाई कसरी मनाउने ? तीज महिला अधिकारको पक्षमा छ कि विपक्षमा छ ? भन्ने विषयमा नेपाली महिलाहरुको विषयमा थुप्रै छलफल, बहश र संघर्षहरु भएका छन् ।
एकातिर तीज स्वतन्त्रतालाई महिला स्वतन्त्रता भएको देख्ने, महंगा महंगा गहना, श्रृंगार र पहिरनमा छम्की छम्की नाच्न पाउने कुरालाई नै महिला अधिकारको रुपमा बुभm्ने एउटा जमात छ । जसले तीजको रुढिबादी परम्परागत सामन्ती मान्यतालाई पूजिंबादीसंग जोडेर रिमिक्स खालको तीज मनाई रहेको छ, जो संग रिमिक्स खालको तीज मनाउने मनग्ये सम्पत्ति छ । आज रिमिक्स तीजको प्रभाबले रिमिक्स तीज मनाउन खोज्ने तर हैसियत नपुग्ने नेपाली महिला दिदी बहिनीहरुको बिजोग छ ।
पछिल्लो समयमा पूँजीवादी उपभोक्ताबादी संस्कृतिले तीजलाई नराम्रो संग जकडिरहेको छ । महँगा गहनाहरुको होडबाजी, गहनाहरुको एकप्रकारको प्रतिस्पर्धा, त्यसलाई आर्थिक र सामाजिक प्रतिष्ठाको विषय बनाउने मनोविज्ञान त्यसका उदाहरण हुन् । जसको नकारात्मक परिणाम स्वरुप थुप्रै विकृतिहरु आज हामीले भोगिरहेका छौं । तीजलाई यहीं रुपमा मनाउने हो भने यसले भविष्यमा ठूलो दुष्परिणाम नल्याउला भन्न सकिन्न ।त्यसैले तीजलाई साँच्चिकै महिला स्वतन्त्रताको पक्षमा उपयोग गर्ने हो भने त्यसको महिला विरोधी सांस्कृतिक मान्यता या भनौ तीज पर्व भित्रको चरम पित्तृसत्तावादी सोंचलाई पुरै उल्ट्याउन आवश्यक छ । घुमाइफिराई महिलालाई पुरुषको मनोरञ्जनको साधनमा बदल्ने कुरालाई पूरै बदल्नुपर्ने भएको छ । बजारका अन्य बिकाउ सामान जस्तै महिलालाई पनि बजारका त्यस्तै माल सामान मान्ने पूँजीवादी सोंचलाई पुरै विस्थापित गर्न जरुरी छ । त्यसको लागि आफूलाई आधुनिक र शिक्षित ठान्ने सम्पूर्ण महिलाहरुले यो कुरालाई गम्भीरतापूर्वक आत्मसाथ गर्नु आजको महत्वपूर्ण आवश्यकता हो ।
(लेखक एकिकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ)

No comments:
Post a Comment