गोविन्द पौडेल
कलममानको सानैदेखिको सपना थियो पत्रकार बन्ने । जसरी जाँडको तलतल माडले मेट्न सक्दैन, नुनको तलतल सुनले मेट्न सक्दैन, मैयाको तलतल भैयाले मेट्न सक्दैन उसरी नै कलममानको पत्रकार बन्ने तलतल न डाक्टर बन्ने कल्पनाले मेट्यो, न इन्जिनियर बन्ने सपनाले छेक्यो । आखिर बनेरै छाड्यो राष्ट्रको चौथा अङ्ग । आफू बेखबर भएर पनि दुनियाँको खबर छापेकै छ । आफ्नो तलबको सुइँको नपाए पनि सूचनाको धर्म थामेकै छ । वर्षात्को समयमा टिभीको न्युज डेस्कले कलममानलाई दूरदराज पठायो । ‘तुलीगाँडा टेलिभिजन’ नेपालकै तेज समाचार प्रशारण गर्ने सञ्चार गृहको वरिष्ठ पत्रकार थियो ऊ अर्थात कलममान । तराईको एउटा गाउँ डुबानमा परको दृष्य खिचिरहँदा बाढीबाट उत्रेर पाखामा बसिरहेको एउटा बूढो मान्छेतिर क्यामरा फर्काउँदै सोध्यो– यत्रो जनधनको क्षति हुने गरी बाढी आयो । यसबारे अलिकति हामीलाई बताइदिनुस् न, गाउँमा बाढी कसरी घुस्यो ?
उसको प्रश्न सुन्दासाथ क्यामरातिर फर्केर मान्छेले आफ्नै लवजमा बिलौना पोख्न थाल्यो– खै के भन्ने हुजुर१ हामी काम गरिरहेको थियो । त्यत्तिकैमा खुट्टामा ठन्डाठन्डा भयो, अनि बिस्तारै पानीको सतह बढ्दै गयो । केही समयपछि त घुँडाभन्दा पनि उपर चढ्यो । अनि बिस्तारै बिस्तारै हाम्रो धोतीको निचे भेन्टिलेसनमा घुस्यो तर गाउँमाचाहिँ कसरी घुस्यो थाहा भएन सरजी ।यत्तिकै कलममानले छड्के प्रश्नको झटारो हान्यो– त्यतिबेला यहाँले कस्तो महसुस गर्नुभयो ?रिसाउँदै त्यो मान्छेले भन्यो– तपार्इँ खराब मान्छी छ, तपाईँको कट्टुभित्र पानी घुस्यो भने कस्तो लाग्छ ? हामीलाई पनि उस्तै महसुस भएछ, कुतकुती लागेछ ।
अर्को दिन पहाडतिर लाग्यो ।
पहिरो लडेको एउटा गाउँको कथाव्यथा प्रस्तुत गर्नु थियो । गाउँलेहरु टिभीमा आफ्नो अनुहार आउने आशामा पहिरोको पीर भुल्दै थिए । अगाडि आउन र मुख देखाउन तँछाडमछाड गर्दै थिए । एउटा अलि नेताजस्ता टाइँफाइँ गर्ने मान्छेलाई कलममानले प्रश्न र क्यामरा एकैसाथ तेस्र्यायो– पहिरो कसरी आयो ? एक्कासि आयो ?
त्यो मान्छे झनक्क रिसायो । मनमनै सोच्यो साले – पहिरो कसरी आउँछ यसलाई थाहा हुँदैन । अनि उसले मन्द मुस्कानका साथ बिस्तारै भन्यो– हैन हजुर एक्कासि आएन । पहिला एउटा ढुङ्गो लड्दै आएर हामीलाई भन्यो कि गाउँले हो म पहिरोको दूत हुँ । मेरा साथीहरु माथितिर छन् । तिमीहरुलाई कुनै गारो हुँदैन भने हामी तलतिर झर्छौ हैन भने माथि नै बस्छौँ के छ विचार ? ढुङ्गाको कुरा विश्वास भएन सबैले तलै आइज भने, अनि पहिरो आयो । एक्कासि आएन अनुमति लिएरै आयो । गाउँलेको कुराले कलममान जिल खायो ।
No comments:
Post a Comment