खेपिरहेको स्याउलीबाङको भरेङ धारानजिकै एउटा सानो बजार छ । बगरका उकास जमिनमा केही छाप्राहरू छन् ।
खोलाको पानी छ, स्याउली बजारका साउनीहरूको केही बाह्रबीसे जवानी छ । अनि दिनभर दिल बहलाउन त्यहाँ ‘चिसो भनेकै कोकाकोला’ देखि गाउँकै कोदाको खोयाबिर्केसम्म उपलब्ध छ । हजुरबुवा भन्नुहुन्थ्यो— बजार लाग्न सुरू हुँदा उहाँ वडाअध्यक्ष पनि बन्नु भएको थिएन रे । अर्थात् स्याउली बजार नेपालको पुरानो बजारमध्ये एक हो । फरक यति हो, त्यतिखेर कोदाको जाँड पाइन्थ्यो, अचेल उस्तै परे ठिटाठिटीहरू भेला भएर झ्यालढोका लगाएर ब्लु फिल्मसम्म हेर्छन् । स्याउली बजारको साहुहरू फेरिएका छन्, बान्की फेरिएको छ । ग्राहकका खान्की फेरिएको छ । हो, यस्तो पुरानो बजारको खबर कम आउँछ । स्याउली बजारको कथा कहाँ लेखियो र ? धेरैको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने बजार हो स्याउलीबजार । लाग्छ, उपन्यासकारहरूले विदेशी पुस्तक पढे र आँखै अगाडिका स्याउली बजारका चरित्रबारे सोच्नै भ्याएनन्, त्यसैले आजसम्म स्याउली बजारको कथा समाचारको पुछारतिर हरायो । स्याउलीबजारसँग जोडिएका थुप्रै विषय गुमनाम गुमनाम रहे ।
रातभरि सुतेको छैन । चकमन्न औँशीको
रातमा पनि स्याउली बजारमा झिलमिल झिलमिल भइरहेको छ । कोही अगुल्टो पुत्पुताउँदै हिँडेका छन् । कोही टर्च लाइट झलल बालेर । कोही तमाखु तान्दै बूढो धम्कीको खोकीका आवाज निकाल्दै छन् । ग¥याम्मगुरूम्म । ठेस लागेका होलान् । कोही ‘आइया’ भन्छन् राति हिँड्दा पहिलाजस्तो काँधमा आठ ब्याट्री लाग्ने एकभारीको जापानिज पानासोनिक क्यासेट घन्काउनु पर्दैन । सबैको हातमा चाइनिज मोबाइल छ । मेमोरी कार्डका गीत टन्नै । स्याउली बजारमा मोबाइलमा गीत सुन्दै हिँड्ने पनि छन् । बार्दलीमा सुतेको पिचुर निदाउनै के लागेको थियो । स्याउली बजारको चहलपहलले निद्रा कचमचियो । भर्खर हो, गाउँ आएको । ३ नम्बर डिभिजन कार्यालय शक्तिखोरमा थियो । जीवनका उर्वर वसन्तहरू जनयुद्वमा होमेर विस्तृत शान्ति सम्झौतापछि शिविरमा बसेको । पहिलो चरणको छनौटमा सेनामा जाने रहर गरे पनि अयोग्य भएर चुपचाप चेक लिएर घर फर्केको छ पिचुर । करिब १५ वर्षपछि गाउँ फर्कँदा उ जति निरास र चाउरिएको छ, त्यस्तै निरस छ उसको स्याउली बजार । उही नियति उग्राइरहेको छ स्याउली बजार । फरक छ त केहीको लवाखवाइ र बोलीचाली । एकाध घरमा डिसहोमका छाता टाँगिएका छन् । रंगीन टिभी छन् घरमा । तर सुनसान छ गाउँ । आइमाइ, केटी र बालबच्चाको भीडमा स्याउली बजार हराएको छ ।
मुलुकमा गणतन्त्र र संविधानसभाका लागि युद्व लडेर शिविरमा बसेर अयोग्यको बिल्ला भरेर गाउँ फर्किएको पिचुरलाई आफूजस्तै अपूरो, अधुरो लागिरहेको छ स्याउली बजार । उ आफू फेरिन नसकेजस्तै स्याउली बजार फेरिन नसकेको अतीत उग्राउँदै स्मरण गरिरहेको छ । बार्दलीबाट चिहायो । कालो रातमा जूनकीरी जस्तो टोलमा भिलझिल गर्दै कोही हिँडेका छन् सुलुसुलु । को हुन्, को । आवाज पनि साउती छ । उत्तर नदिएरै हिँडेकाहरू ।
बजारबाट भारी बोकेर आउने ढाक्रे होलान् । बरिखा लाग्यो । टू्याक्टर गाउँमा आउँदैन । पसलेहरूले भरियामार्फत चाउचाउ, नूनतेल बोकाउँछन् । मनहरी बजारबाट भरियाहरू तीन खेपसम्म ओसार्छन् । विकासे मल, नून, चिउरा, तेल । किलोको तीन मोहर लिन्छन् भरियाले, पसलेले तीन मोहर नाफा । मनहरी बजारमा भन्दा तीनरूपे महङ्गो छ स्याउलीबजारमा । रातभरि हिँड्ने भरिया पनि होलान् । पिचुर मनमनै कुरा खेलाउँदै आँखा चिम्लन खोज्छ । यी त सब पुराना कुरा भए । पिचुर गाउँ छाड्नुअघि र अहिलेको अवस्था जोख्छ ।
कानमा गुन्जियो । गल्मटे सुसायो । केराबारीमा पानी परेछ क्यारे ¤ ठाडो बग्ने खोल्सा एकछिनमै सुसाउँछ र शान्त हुन्छ । पारिगाउँमा पनि बत्ती बल्यो । झिल्किनी, मइन्टारतिर मान्छेहरू खेत हेर्न उठेका होलान् । गल्मटे बेलाबखत खेतमा पसिदिन्छ भारतीय सीमा सुरक्षा बलका प्रहरी जवानहरू नेपालीको घरमा पसेजस्तै । अनि खेतका बाली बगाइदिन्छ । कुलो भत्काइदिन्छ । आज कुँडुलेतिर उज्यालो छ । चुर्लिङ खोला शान्त छ । मनहरी खोला पनि ठूलो छैन । खोला तर्दा लडाए बाँकटे हानेर उत्रिन सकिन्छ । टन्न प्लास्टिकले मोडेर भरियाहरू निर्धक्क स्याउली बजारको जिनिस ओसार्दै छन् । गल्मटे चुर्लिङमा झरेपछि गायब हुन्छ । चुर्लिङ दोभानमा पुगेर मनहरी खोलामा मिसिन्छ । स्याउलीबाङमा मरेकाहरू पनि त्यही दोभानमा पुगेर खरानी हुन्छन् ।
No comments:
Post a Comment