सभापति न्यौपानेसँग राम अविकास र छवि अनित्यले गरेको कुराकानी ।
वैद्यपक्षले चुनाव हुन दिन्नौँ भनिरहेको मंसिर ४ मा चुनाव होला ?
चुनाव त हुन्छ । अहिले नगरेर सारियो भने पनि त्यतिबेलाचाहिँ सबै पक्ष चुनावमा आउँछन् भन्ने ग्यारेन्टी छैन । जहिले गरे पनि कुनै न कुनै पक्ष त बाहिर हुन्छ । अहिले नै माओवादी चुनावमा आउँदैन नै भन्ने बेला भैसकेको छैन । तर उनीहरूलाई पनि चुनावमा ल्याउनुपर्छ र त्यसका लागि हामीले आफ्नो तर्फबाट प्रयास गरिरहेकै छौँ ।
वैद्य पक्षले चुनावी प्रक्रियामा सहभागी हुन खिलराज रेग्मी सरकारलाई विघटन गरेर सर्वदलीय सरकार बनाउने सर्त राखेको छ । के त्यो सम्भव होला ?
सर्वदलीय सरकार बनाउने कुरामा पहिले पनि सहमति हुन नसकेपछि नै रेग्मी नेतृत्वको सरकारमा गएको हो । हिजो एकीकृत माओवादी भित्र पनि बाबुराम भट्टराईका विषयमा सबै एकमत हुन सकेका थिएनन् । एमालेभित्र पनि झलनाथ जाने कि माधव नेपाल भनेर झगडा भएकै हो । तर काँग्रेसभित्र त एकमतले निर्णय भएकै हो नि । अरू पार्टीमा आÇनै नेतृत्वलाई Çयाँक्ने कसरत भइरहेको र काँग्रेसभित्र एकमत भइरहेको अवस्था थियो । यतिबेला आएर नेकपा–माओवादीले रेग्मीलाई राजीनामा देऊ भन्नु सिद्धान्तका हिसाबले ठीकै कुरा होला, तर व्यवहारमा त त्यसो गर्न नसकिएरै विकल्प खोजिएको हो नि । त्यसैले रेग्मी सरकारको विकल्पको सम्भावना चाहिँ म देख्दिनँ ।
त्यसोभए वैद्यपक्ष चुनावमा नआउलान् नै ?
बेलाबेलामा अलि लचिलो पनि देखिएको, अनि कहिलेकाहीँ कडा देखिएको
अवस्थामा बार्गेनिङ्का गरेर उनीहरू आउने सम्भावना छ ।
चुनावमा आउँदा काँग्रेसलाई फाइदा हुन्छ कि नआउँदा ?
हैन, चुनावका लागि त काँग्रेसको लागि मात्र होइन कि जुनसुकै दलका लागि पनि सबै दल आउँदा राम्रो हो नि । कुनै दल विशेषका लागि भन्दा पनि मुलुक र जनताका लागि नेकपा–माओवादीसहित सबै दल चुनावमा आउँदा नै फाइदा हो नि ।
मकवानपुरकै सन्दर्भमा १ नं. क्षेत्रमा पहिले जित्ने वैद्य पक्षमा छन् । काँग्रेसले अलि धेरै मेहेनत पनि गरिरहेको क्षेत्र हो त्यो, अब काँग्रेसलाई त फाइदा होला नि ?
मलाई के लाग्छ भने, वैद्य पक्ष मात्र भन्दा पनि कम्युनिस्ट भित्रै जे गर्न सकिँदैन त्यो बोल्दै हिँड्ने र झुटा आश्वासन बाँड्ने बानीले जनता ‘चेत बाबा काशी’ भनेजस्तो भैसकेका छन् । यस्तो हुँदा यहाँका मतदाताले विकल्प खोजेका छन् । जे गर्न सकिन्न त्यो बोल्ने अनि सक्ने कुरो बोल्दै नबोल्ने । बेरोजगारलाई रोजगार, घर नभएकालाई घरबार, के त्यो सबैलाई सम्भव छ । सम्भव नै नभएको कुरा किन बोल्ने ? भएको चीज न बाँड्ने हो । कसैको सम्पत्ति धेरै छन् भने केही केहीको अनियमितताका कुरा पनि होलान् ।
सरासर गलत हो । कसैले गर्न नसक्ने कुरा गर्छु भन्ने, जातिपिच्छेको छुट्टै राज्य दिन्छु भन्ने, हिजोका दिनमा सेनवंशी राजाहरूका बीचमा तँलाई यत्ति र तँलाई यत्ति भनेर टुक्राएको जस्तो होइन नि । त्यस्ता कुराहरू वामपन्थीहरूले भन्दै जाने अनि सोझासाझा जनताले पनि ‘हो क्यारे’ भन्दै पत्याउँदै जाने । हिजो जनताले ‘ए यो त साँच्चै हुने कुरो थियो, हामीलाई दिएनन् क्यारे’ भनेर पत्याउँदै गए । तर आज त देखे र भोगे पनि । गर्न सकिने चाहिँ के हो भने सिंहदरबारमा योजना छ, बजेट छ, कार्यक्रम छ, अधिकार छ । सबै कुरा त सिंहदरबारमा छ । मकवानपुरका चार लाख जनता काठमाडौ गएर विकास ‘ले’ भन्न सकिने अवस्था थिएन । मकवानपुरबाट चारजना प्रतिनिधिलाई उनीहरूले यहाँ योजना, कार्यक्रम र बजेट ल्याउँछन् भनेर पठाएका हुन् । तर यहाँका एमालेका,
राप्रपाका, माओवादीका कुनै जनप्रतिनिधिले कुनै कार्यक्रम ल्याउन सकेनन् । मकवानपुरमा अहिले पनि आउनुपर्ने बजेटबाहेक मकवानपुरका जनताले छानेका प्रतिनिधिले मेरा कारण यस्तो भयो भन्ने किसिमको कुनै काम गर्न सकेनन् । त्यसैले यहाँ माओवादी वा राप्रपा वा एमालेको भूमिका के होला भन्नु भन्दा पनि आमजनताले अबको विकल्प मकवानपुरमा काँग्रेस नै हो भन्ने बुझेका छन् ।
जनतालाई अरू दलहरूले सधैँभरि ढाँटी नै रहेको भनेर तपाइँले भनिरहँदा संसदीय व्यवस्थाको यति लामो अभ्यासमा मकवानपुरका जनताले काँग्रेसलाई एकपटक पनि नपत्याउनुको कारण चाहिँ के होला त ?
यस्तो हुँदो रे’छ, बुद्धिमानीले आफैँ सिक्छ । त्योभन्दा कम बुद्धिमान्ले अर्काको देखेर सिक्छ । अनि अर्काथरीले चाहिँ न आफैँ सिक्छ न अर्काको देखेर नै सिक्छ । आज जनताले केही भोगे पनि, अर्को कुरा हामीले पनि हिजो जनताका बिचमा पुग्ने प्रयास कम ग¥यौँ होला । मैले घरमा बसिरहेर जनताले यहाँ आएर मलाई ‘जय नेपाल’ भनिदिए भने जनताको सेवा हुन्छ भन्ने मेरो सोचाई हो भने त्यो पनि गलत भयो होला । अलिअलि हामीले पनि सिक्यौँ, अलिअलि जनता पनि चेते । वामपन्थी खस्किने, जनताको चेताइ र हाम्रो अनुभवले हामी अगाडि बढ्ने, यो दुई कुराले हामी सफलतातिर लागिरहेका छौँ भन्ने प्रष्ट हुन्छ ।
वामपन्थीहरू असफल भए भन्ने आधारमै काँग्रेस बलियो भन्ने पनि त हुन्न, काँग्रेसले आफैँलाई बलियो बनाउन चाहिँ के गरिरहेको छ ?
मैले धेरै कुरा भनिरहनु भन्दा पनि यौटा कुरा सत्य के हो भने, काँग्रेस जे बोल्छ त्यो गर्छ, जे गर्न सक्दैन त्यो बोल्दै बोल्दैन । यही सत्यताले नै काँग्रेस ठूलो राजनीतिक शक्ति बनिरहेको छ । ०४६ सालभन्दा अघिको माले बन्दुकमै विश्वास गर्ने, ०६३ भन्दा अघिको नेकपा माओवादी बन्दुककै शक्तिमा विश्वास गर्नेहरू र उनीहरूको भाषामा अहिलेसम्म पनि सुधार हुन सकेको छैन । उनीहरू अझै पनि कब्जा गर्नेमै सीमित छन् । अन्ततः उनीहरू सिद्धान्ततः असफल भए । उनीहरूकै भाषामा जनसेनाले सत्ता कब्जा गरेर त उनीहरू प्रधानमन्त्री भएका होइनन् । त्यसका लागि त जनताले मत दिएरै उनीहरूलाई पठाएका हुन् । गिरिजाबाबुले भन्ने गर्नुहुन्थ्यो ‘सच्चा डेमोक्रेट त्यो हो जसले ननडेमोक्रेटलाई पनि डेमोक्रेटिक बाटोमा ल्याउँछ ।’ एमालेलाई अलिअलि प्रजातन्त्रका कुरा गर्न र अभ्यास गर्न सिकाएका छौँ हामीले । अब त माओवादीमा पनि प्रजातन्त्रका गीत गाउने, शान्तिका बाजा बजाउने र स्वतन्त्रता नाच नाच्ने कुरा हामी सिकाउँदै छौँ । आखिर घुमिफिरी रुम्जाटार भनेझैँ सबैलाई आउनुपर्ने त यहीँ रहेछ । काँग्रेसमा के छैन ? नेता राम्रो, नीति राम्रो, इतिहास राम्रो–वर्तमान राम्रो, भविष्य राम्रो । अब अहिले बोलेको एकैछिनमा खुस्किने कुरा चाहिँ काँग्रेसले गर्दैन । बरु दशकौँ पछाडि पर्नु परे पर्छ तर झुटा आश्वासन बाँड्दैन ।
उसोभए के काँग्रेसले अब मकवानपुरमा खाता खोल्छ त ?
म विश्वस्त छु । अहिलेकै सन्दर्भमा मकवानपुरका सबै क्षेत्रमा काँग्रेसको बृद्धि भएको देखेको छु । आफैँ सङ्गठनको प्रमुख भएकाले आÇनै हेराई बेठीक पनि हुन सक्ला । साङ्गठनिक संरचनाका हिसाबले १ र ३ नम्बरमा हामी कुनै पनि ठाउँमा खाली छैनौँ । २ र ४ मा पनि ठूलो फड्को मारेको छ । त्यसकारण म निराशावादी कुनै पनि क्षेत्रमा छैनौं ।
काँग्रेसलाई जिताउने÷हराउने भनेको निर्णायक मत दिने जनताले नै हो । ती जनताका सामू तपाईँहरू के लिएर जाँदै हुनुहुन्छ ? चुनावी रणनीति के छ ?
जिल्लाबाट पार्टी सभापतिले सबैका गाउँगाउँ र घरघरमा जान सक्ने अवस्था हुन्न । जाने भनेको सङ्गठनका कार्यकर्ता नै हुन् । उनीहरूहरूलाई जनताका सामू झूटो नबोल, झुटा आश्वासन नबाँड, यही नै भनेका छौँ । अहिलेसम्म मुलुकका जति पनि ठुल्ठुला बदलावहरू भएका छन्, सबै काँग्रेसकै अगुवाईमा भएका छन् । अहिले आएर मुलुकले निकास पाउन नसक्नु, संविधान बन्न नसक्नु भनेको अरू केही होइन, काँग्रेसको शक्ति सन्तुलनमा बदलाव आयो र वामपन्थीको बाहुल्यता आयो । वामपन्थीले ६२–६३ प्रतिशत मत हुँदा पनि केही गर्न सकेनन् । काँग्रेसले पचास प्रतिशत मात्रै मत पायो भने पनि सबै जनताका हक अधिकारलाई सुरक्षित राख्दै, संसदीय व्यवस्था नै फाल्छु भन्ने माओवादीका पनि अधिकार, व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सुरक्षण गर्छ ।
काँग्रेसले सम्भावित चुनावी नतिजालाई कसरी विश्लेषण गरेको छ ?
निर्वाचन भनेको पनि एउटा वैचारिक लडाईँ हो । त्यो लडाइँ जुझारु कार्यकर्ताकै बलमा लडिने हो । अहिले हाम्रा कार्यकर्तामा प्रशस्त उर्जा छ, सङ्गठन पनि तल्लो तहसम्म पुगेको छ । हिजो हामीले १ नं. क्षेत्रमा चुनाव लडिरहँदा ११ वटा गाविसमध्ये ५ वटामा गाउँ कमिटी थियो, ६ वटा गाविसमा गएर कहाँ बस्ने हामीलाई नै थाहा थिएन । त्यत्ति हुँदा पनि काँग्रेसलाई साँढे आठ हजार मत त दिए त जनताले । रेडियो र टिभीका भरमा त्यति भोट आउँछ भने हामी आफैँ पुगेर भोट माग्दा दोब्बर त पक्कै हुन्छ ।
जनताले मत दिनका लागि काँग्रेसको रुख चिन्हलाई मात्र त नहेर्लान् नि, व्यक्ति पनि त हेर्लान् ।
जनताले हेर्ने भनेको दलीय विचार नै हो । व्यक्तिको प्रभावले एक दुई प्रतिशत नतिजा तलमाथि होला । तर त्यसले चुनावी नतिजामा त्यस्तो सारो असर पार्दैन । दलले उठाउने व्यक्तिको व्यक्तित्वको प्रभाव हुँदै हुँदैन त म भन्दिनँ । तर त्यो ज्यादै न्यून हुन्छ । नेपालमा ऋषिकेश शाहकै उदाहरण लिऊँ न, बौद्धिक जमातमा अन्तर्राष्ट्रिय जगतमा चिनिएका मान्छे हुन् नि उनीहरू त । उनले चुनाव लड्दा जनताले किन भोट दिएनन् त ? के उनको व्यक्तित्व वा चरित्र खतम भन्ने हो र ? दलसँग मान्छेका गुनासाहरू होलान्, चित्त दुखाइका कुराहरू होलान् । तर गुनासा त आÇना मान्छेसँग न गरिने रै’छ । मैले मेरा बुबाप्रति गर्ने व्यवहार गरिनँ भने बुबा मसँग रिसाउनुहुन्छ, बुबाले मप्रति गर्ने कर्तव्य पूरा गर्नुभएन भने म बुबासँग रिसाउँछु । जतिसुकै गुनासा भए पनि दलभन्दा बाहिरका मान्छे भनेका असाध्यै न्यून छन् । व्यक्ति नै हेर्ने हो भने मकवानपुर सबै तामाङ बाहुल्यता रहेको जिल्ला, काँग्रेसले यहाँ जहिले पनि तामाङलाई उठाएकै हो । १ नं. मा पनि तामाङ उम्मेदवार उठाएकै हो, जित्ने बेला जहिले पनि कृष्णप्रसाद दाहाल र कमल थापा जित्छन् । त्यसैले व्यक्तिगत प्रभाव भनेको ज्यादै न्यून हुन्छ ।
१ नं. क्षेत्रकै कुरामा यसपटक कमल थापा त्यहाँबाट चुनाव लड्दै छन् । उनीहरू आएपछि प्रतिस्पर्धामा अरू जोसुकै आए पनि जित्नसक्ने सम्भावना कम भएको भन्छन् नि ?
व्यक्तिगत रुपमा मलाई असाध्यै मनपर्ने मान्छे कमल थापा । कमल थापा जस्तो अध्ययनशील, बौद्धिक मान्छेको बोलिमा, व्यवहारमा कहीँ कतै खोट लगाउने ठाउँ छैन । तर कहाँ छ कमल थापाको विचार ? जनताले व्यक्तिलाई हेर्छन्, विचार हेर्दैनन् भन्ने कुरा गर्ने हो भने त स्वतन्त्र मान्छेहरुले धेरै जित्नुपर्ने हो नि, बबनसिं बाहेक कहाँ जिते स्वतन्त्र मान्छेले चुनाव ? कमल थापाकै विषयमा चाहिँ भएको के हो भने, अरु कुनै पार्टीमा जाउँ भने के–कसो हो केही पनि थाहा छैन । यहीँ बसेर म प्रजातन्त्रवादी भएँ भनौँ भने सूर्यबहादुर थापा पनि प्रजातन्त्रवादी, पशुपति शमशेर पनि प्रजातन्त्रवादी ।
कमल थापाले जनताका लागि आएको भनेर कहिले भनेका छन् ? खाली मलाई
राजा चाहियो, राजा फर्काइदेउ भनेका छन । उनले ल्याउने भोट भनेको जति छन् राजावादी बाँकी रहेका, तिनैको भोट हो । कमल थापाको खेल भनेको बाँकी बचेका
राजावादीहरुका बिचमा खेल्ने नै हो । त्यहाँ पैसा पनि छ, मानसम्मान पनि छ । उनको राजनीति भनेको बाध्यताको राजनीति हो । सोध्नुस् राप्रपा भित्रैका मान्छेहरुलाई कि को हो कमल थापा पछिको तिमीहरुको नेता ? त्यो उनीहरुलाई नै थाहा छैन । उनीपछि न दीपक सिंले चलाएर चल्छ, न नवराज विष्टले चलाएर चल्छ । कुनै दिन कमल थापा दिक्क भएर ‘जान्छु म त ब्याडमिन्टन खेल्न’ भनेर लागे भने माउ मरेका चल्ला जस्ता भएर बस्छन् राप्रपाका कार्यकर्ता भनिएकाहरु । खाली राजाभन्दा बाहेक केही पनि नभएको त्यस्तो अनिश्चित ठाउँमा जनताले आÇनो भोटको लगानी गर्छन् भन्ने लाग्दैन । कसैको व्यक्तित्वलाई मान्नु र भोट दिनु भनेको त नितान्त फरक कुरा हुन् नि ।
काँग्रेसले यसपटक चाहिँ मकवानपुरमा आफूलाई स्थापित गरेरै छोड्छ भन्ने आत्मविश्वास चाहिँ तपाइँलाई कहाँबाट आयो ?
मेरो यो तागत र ऊर्जा भनेको गाउँगाउँबाट उठेका जनताको साथले हो । तलबाट सङ्गठनले रापले मलाई ऊर्जा दिएको दियै छ र त्यही तापको बलमा म यो सब बोलिरहेको छु । यो सबै भएको त मेरो सङ्गठनको बलमा हो ।
तपाइँलाई कहिलेकाहीँ ‘पार्टीभित्र रघु उफ्रिरहेको छ, यसलाई चाहिँ उफारेरै छोड्नुपर्छ’ भन्ने खालको कसरत भइराखेको जस्तो लाग्दैन ?
लाग्दैन । त्यस्तो त फिटिक्कै लाग्दैन । राजनीतिमा आÇनो व्यक्तित्व विकास गर्नुपर्छ भन्ने कुरामा चाहिँ सबै लागेकै हुन्छन् । तर आÇनो व्यक्तित्व विकास गर्ने नाउँमा अर्कालाई छिर्के हानेर लडाउने भन्ने कुरा चाहिँ हुँदैन । हिजो सबैले हामीलाई प्रजातान्त्रिक र संस्थापन भनेर छुट्याएर हेरेकै हो । तर आज कुनै पनि निर्णय प्रक्रियामा कतै प्रजातान्त्रिक र संस्थापन भन्ने कुरा कतै पनि भेट्नुहुन्न । जुन कुरो अहिले हाम्रो व्यवहारमै देखिएको छैन भनेपछि गएर परिणाममा कसरी आउँछ ?
तपाइँले जसरी भन्नुभएको छ कि यहाँका पूर्वजनप्रतिनिधिहरूले मकवानपुरमा केही पनि गर्न सकेनन् भनेर । के उनीहरूहरूले नचाहेरै नल्याएका हुन् वा नसकेर ?
इमानदार नभएर । नसक्ने भन्ने कुरा हुन्छ र ? यौटा जनप्रतिनिधि भइसकेपछि गर्न चाहँदा एउटा बाटो, सयजनालाई पानी खुवाउने कुरा, विद्यालय बनाउने कुरा नसक्ने भन्ने हुन्छ ? आज हेर्नुस् हेटौंडा अस्पतालको अवस्था के छ, वासुदेव सभागृहको अवस्था के छ ? आँटेर गरे सकिन्छ भन्ने कुराको म तपाईँलाई एउटा उदाहरण दिऊँ, पछिल्लो पटक बसामाडी १ नेवारपानीमा ४०–५० लाखको खानेपानी आयोजनाका लागि त्यहाँका जनता जिविसमा आए, विभिन्न सङ्घसंस्थामा धाए तर केही भएन । चैतमा उहाँहरू मकहाँ आइपुग्नुभयो र मैले काठमाडौ लिएर गएँ । अब त्यहाँका जनताले पानी खान पाउने त भए, योजना रातो किताबमा प¥यो । पदमपोखरीको ५ नं तल्लो रमनटारबाट बसामाडी २ बस्तिपुर जोड्ने मोटरबाटोसहितको पूल ०६२÷०६३ देखि निरन्तर जिल्ला परिषद्बाट पास भएकै छ । दुई वर्षे कार्यकालका सांसदले ४ वर्ष बिताएर आउँदा पनि त्यसमा त केही गरेनन् । हाम्रा पदपोखरीका सभापतिको अनुरोधमा मैले त्यो लिएर गएँ र अब त्यहाँ पनि मोटरबाटो त बन्ने भयो त । १५–१६ करोडको त्यो योजना पाइपलाइनमा त छि¥यो । यस्ता थुप्रै कुराहरू छन् । अहिले प्रतिनिधिको हिसाबमा भन्ने हो भने त म कहीँको पनि प्रतिनिधि होइन । मैले प्रयास गर्दा वर्षमा करोडौँका कार्यक्रम आउँदोरहेछ भने यतिका सभासद्ले के गरे त ? उनीहरूहरूले के चाहिँ गरे भने काठमाडौमा घरघडेरी जोडे, आÇना र श्रीमतीका गाला राता बनाए । वास्तवमा भन्ने हो भने हाम्रा साथीहरू भातमारा भए । भातको पनि ज्याला उठाउन नसक्नेलाई त भातमारा भन्नुपरेन त ? यो भन्दा राम्रो उदाहरण के हुन सक्छ मकवानपुरे जनतालाई ?
काँग्रेसका जनप्रतिनिधि चाहिँ भातमारा नहोलान् भन्न सकिएला र ?
हुँदैन । काँग्रेसको सुरुवात नै झुटोबाट भएको छैन । यथार्थबाट सुरुवात भएको कुराको टुङ्गो पनि यथार्थमै लाग्छ ।
१ र ३ नम्बरलाई काँगे्रसको बलियो क्षेत्रमा राख्नुभएको छ । ३ मा सम्भावना त्यस्तो बलियो छ काँग्रेसको ?
म उत्साही छु, म विश्वस्त छु । मैले सिङ्गो मकवानपुरको कुरा गर्दा ३ नं. क्षेत्र पनि त्यसमा आउँछ ।
काँग्रेससँग चुनावी एजेण्डा चाहिँ के छ ?
मुख्य कुरा त हामी संविधानसभाको चुनावमा छौँ र लोकतान्त्रिक संविधान निर्माण नै मूल एजेण्डा हो । बनाए जनगणतान्त्रिक संविधान बनाउँछौँ, हैन भने बनाउन दिन्नौँ भन्ने माओवादी सोचलाई विस्थापित गर्दै लोकतान्त्रिक संविधान बनाउने कुरा नै पहिलो कुरा हो ।
जनता त संविधानको धाराको कुरो थाहा छैन, घरको धारामा चाहिँ पानी आउनुप¥यो भन्छन् ।
होइन म त्यो मान्दिनँ । अहिले कुरो के छ भने, अहिले जनताले खालि एक छाक खान दिउँला भनेकै भरमा निर्णय गर्छन भन्ने पक्षमा छैन । किनभने ००७ सालदेखिको इतिहासलाई हेर्दा त्यतिबेला काँग्रेसले उठाएको आन्दोलनका एजेण्डाले नै बहुमत ल्याएको हो । ०४६ सालपछि पनि आन्दोलनमा खेलेको नेतृत्वदायी भूमिकाकै बलमा काँग्रेसले बहुमत ल्याएको हो । अहिले पछिल्लो समय माओवादीले पनि आन्दोलनकै बलमा ठूलो पार्टी बनेको न हो । आन्दोलनमा राजनीतिक दलले गरेका भूमिका पनि हेर्दारहेछन् नेपाली जनताले । हिजो ०४६ सालपछि भोकालाई खाना, नाङ्गालाई नाना, सबैथोक दिन्छु भन्दै हिँडेको एमालेलाई नदिएर जनताले किन काँग्रेसलाई बहुमत दिए त ? नेपाली जनता सचेत छन्, त्यो सचेत जनताले विचार र कार्यक्रमका दृष्टिले पनि निर्णय गर्छन् । झुटो टिक्दैन, साँचो डग्दैन, जनताको मनबाट काँग्रेस हट्दैन । विकासको कुरा गर्नुहुन्छ भने काँग्रेसले ०४८ सालमा उठाएको संरचनाको जगमै सिङ्गो देशको अर्थतन्त्र टिकेको छ ।
अब चुनावी रणनीतिका सन्दर्भमा कसैसँग सहकार्य गरेर अगाडि बढ्ने भन्ने केही त्यस्तो छलफल, तयारी अघि बढेको छ ?
अरु पार्टीसँग त केही पनि होइन, डेमोक्रेटसँग सहकार्य गरेर जाने भन्दा अरु विकल्प छैन । त्यो भनेको एक्लाएक्लै लड्ने भन्ने नै हो ।
तपाइँ आफेँ पनि ३ नं. क्षेत्रमा चुनाव लड्ने तयारीमा हुनुहुन्छ । तपाइँको क्षेत्रमा के–के समस्या देख्नुहुन्छ र त्यसका लागि के योजना तयार गर्नुभएको छ ?
जहाँ काँग्रेस जितेन, त्यहाँ विकासका सबै पूर्वाधार पछाडि परेकै छन् । मैले जितेको खण्डमा पहिलो प्राथमिकता भनेको हेटौंडा अस्पताल नै हो । वृहत हेटौँडाको सन्दर्भमा हेटौंडा देशकै विकासको केन्द्र बन्ने सन्दर्भमा छ । त्यसैले बृहत हेटौंडाका लागि गुरुयोजना बनाएर अघि बढ्ने हाम्रो अर्को प्राथमिकता हो ।



No comments:
Post a Comment