२०४९ सालको मंसिर महिना । मेरो हातमा थियो, कक्षा ५ मा दुई विषय फेल भएको एउटा झुत्रो मार्कसिट र चारित्रिक प्रमाणपत्रको चिर्कट्टो । जीउमा थियो
मैलिँदै गएको आकाशे रङको सर्ट, गाढा नीलो रङको हाप पाइन्ट र गाँस्दा
गाँस्दा गाँस्ने ठाउँ सकिँदै गएको पुरानो एक जोर हात्ती छाप चप्पल । साथमा
थिए मेरो कान्छो मामा पूर्णबहादुर बस्नेत । मलाई अहिले पनि पूरापूर याद छ, छतिवनको महेन्द्र प्रस्तावित माध्यमिक विद्यालय टेकेको पहिलो दिन । माटोको पुरानो गारोमा प्राथमिक विद्यालयकै बोर्ड झुन्डिएको थियो । ढिस्को मुन्तिर चौर थियो । छेउमा कल धारा । म त्यही चौरमा थिएँ । मैजस्ता केटाकेटीको हुल कल्याङमल्याङ गर्दै छेउछाउ कुदिरहेका थिए । कोही ट्वाँ परेर यता उता हेर्दै थिए मजस्तै । मेरो मन एक तमासले ढुकढुकिएको थियो ।
‘पढाइ त कमजोर रहेछ ¤, मेरो जम्लेहात नमस्कारको त्यतिविघ्नै वास्ता नगरेर ढाकाटोपी र चस्मा लगाएका सर बोले, “ल यहाँका विद्यार्थीले ल्याएको नम्बर हेर । यहाँ त एक से एक छन् । यहाँ पढ्ने भए तिमीले धेरै मेहनत गर्नुपर्छ । कम्पिटिसन गर्न सक्छौ ?” उनले आÇनो स्कुलबाट कक्षा ५ पास भएका विद्यार्थीको नाम अङ्कित दुई पाने चिरकट्टे मतिर सारिदिए । मैले अमिलो अनुहार पारेर हेरेँमात्रै । सबै पढ्ने मेरो ह्याउ थिएन ।
उनी थिए माध्यमिक तहका लागि प्रस्तावित महेन्द्र प्राथमिक विद्यालयका प्रधानाध्यापक जनार्दन खनाल सर । “तिम्रो त अङ्ग्रेजी पनि राम्रो छैन, गणित पनि राम्रो छैन, डिभिजन पनि राम्रो छैन । यहाँ सबैको फस्ट डिभिजन छ ¤” जनार्दन सरले यसो भनेको मलाई हिजैजस्तो लाग्छ । उनले सोधेका थिए, “अङ्ग्रेजीमा आÇनो नाम लेख्न आउँछ ?” यो प्रश्नको उत्तर दिन नसकेर मैले कोठाको सिलिङमा आँखा डुलाएको थिएँ ।
अङ्ग्रेजीको ‘अ’ पनि नआउने मेरो डरको पारो बढेर त्यसपछि उच्च भएको थियो । मलाई त अङ्ग्रेजीमा नाम लेख्न आउँदैन थियो । म नबोली बसेपछि शायद जनार्दन सरले मेरो कमजोरी बुझे र लेख्न लगाएनन् । त्यतिमात्रै होइन मलाई डिभिजन भनेको के हो थाहा थिएन, समुतीर्ण र विषय लागेर उत्तीर्ण भएको भनेको के हो थाहा थिएन । अङ्ग्रेजी र गणित जान्नु त कता हो कता ? अहिले सम्झिन्छु, मलाई कक्षा ५ को जिल्ला स्तरीय परीक्षामा कसरी पास गराइदिएछन् कुन्नि ? (पास गराउने मनकारीलाई धन्यवाद ¤)
करिब १५ मिनेट मेरो मार्कसिट र अनुहार बराबर हेरेर जनार्दन सरले महेन्द्र माविको ढड्डामा मेरो नाम चढाए । स्कुलको कुनै कुनामा धूलो मैलो भएर त्यो ढड्डा कतै लडिरहेको होला । भर्ना वापत २० या २५ रुपैया पैसा लिए । मामाले त्यो पैसा भुक्तानी गरे । किन्नु पर्ने किताबको लिस्ट दिए । पुस २ गतेदेखि स्कुल आउनू भने । त्यतिबेला नयाँ शैक्षिकसत्र पुसदेखि सुरु हुन्थ्यो ।
यसरी एउटा कमजोर विद्यार्थी माध्यमिक तहको पहिलो ब्याचका रूपमा ‘महेद्र प्रस्तावित मावि’मा कक्षा ६ को विद्यार्थी भयो । मेरो रोल नम्बर धेरै पछि थियो ३७ वा ४३ अहिले भुलेँ । भर्ना भएपछि मनमा खुसी र त्रास एक साथ
मडारिएर आयो । एक मनले भन्यो, ‘केटा अब ६ कक्षा पुगिस् ।’ अर्को मनले सोच्यो, ‘यहाँ एक से एक जान्नेहरू पढ्दा रै’छन्, त लद्दु सकिने भइस् अब ।”
यो झन्डै बीस वर्ष अघिको कुरा । मैले महेन्द्र मावि छाडेको डेढ दशक भइसकेछ ।
अब कहिल्यै नफर्किने गरी गएका ती स्कुले दिन साँच्चै रमाइला थिए ।
नयाँ स्कुल नयाँ साथी । राम्ररी नाम पनि लेख्न नजान्ने म । सुरुका केही दिन कसैसित नबोली बसेँ । मेरा अक्षर साह्रै नराम्रा थिए, अरूले देख्लान् भन्ने पीर थियो । शायद त्यति नराम्रा अक्षर कमै विद्यार्थीको हुन्छ । म न अङ्ग्रेजी लेख्न जान्दथेँ, न नेपाली । श्रीबहादुर राई सरले एक दिन दाहिने हातमा एक छडी लगाएर भने, “एक हप्ता डिको नदिई लेख् । त्यसपछि डिको दिन थाल् । छ कक्षा पढ्नेका अक्षर गिद्धले छेरेजस्ता छन् ।”
मलाई अक्षर सुधार्नु थियो, मैले त्यसै गरेँ । साच्चै उनले भनेजस्तै जादुमयी तरिकाले मेरा अक्षर फेरिए । म हार नछोडी डिको दिएर नेपाली लेख्न जान्ने भएँ । त्यसपछि म यति खुसी भएँ कि खाली कागज देख्यो कि लेखिरहने बानी लाग्यो । अभ्यासले मेरा अक्षर झन् सुध्रिए । कक्षा ६ पढ्न अँधेरी गाउँबाट छतिवन आउने म एक्लो फुच्चे थिएँ । छतिवन आइपुग्न मलाई २ घन्टा लाग्थ्यो । कर्म प्राप्ति प्राथमिक विद्यालयबाट मसितै कक्षा ५ पास गरेका लोकबहादुर विश्वकर्मा, कमलध्वज न्यासुर, घनश्याम दर्लामी र सावित्री माझी पनि छतिवन स्कुल आएका थिए । हाम्रो गाउँ फरक थियो । तिनले पढाइ निरन्तर गर्न सकेनन् । लोकबहादुरको ३ कक्षा पढ्दै बिहे भएको थियो । ६ कक्षा आइपुग्दा उनी बाउ बनिसकेका थिए ।
अँधेरीबाट बकिया, सुकौरा र सिमात खोला तरेर म छतिवन आइपुग्थेँ । सुकौरा कटेपछि खयर घारीको मौजेवन पथ्र्यो करिब ७ मिनेट दुरीको । त्यसलाई चिहान घारी पनि भन्थे । अहिले त सबै बगाइसक्यो । स्कुल आउँदा र घर फर्किँदा त्यहाँ पुगेपछि मेरो मन त्यसै त्यसै ढक्क फुल्थ्यो । पर बगरबाट हातमा एक ढुङ्गा बोक्थे । अनि दायाँ बायाँ हेर्दै वन छिचोल्थेँ । घुम्ती कट्ने बित्तिकै चौतारो थियो । साँझ–बिहान त्यहाँ तर्साउँछ, मुर्कुट्टा निस्कन्छ, सेतो भूत ठमठम हिँड्छ भन्थे । त्यहाँ पुगेपछि डरको पारो झन् उच्च हुन्थ्यो । कान राता हुन्थे । जीउ सिरिङ्ग । तर मैले त्यस्तो भूत कहिल्यै देखिनँ । बिहानको पढाइ हुँदा अँध्यारैमा हिँड्दा पनि मलाई कुनै भूतले बाटो छेकेन । साँझ अबेर फर्किँदा पनि कुनै मुर्कट्टाले तर्साएन । गाउँले बुढाहरु भन्थे, “यसको ग्रह बलियो छ । सितिमितिले छुँदैन ।”
क्रमश: दोस्रो अङ्कमा
No comments:
Post a Comment