झर्कोलाग्दो विदेश जानेको लर्को । गाउँमा फूलजस्ता ठिटाठिटी छैनन् । फुङ्ग उडेका मुहार, चाउरी परेका गाला । मुजा परेका त्वचा । धुजाधुजा भएका झल्लरी कपडामा उनिएका दुःखका भकारीहरूमात्रै । बुख्याँचा उभ्याइएजस्तो ¤ हरियो—परियो नासिएको छ । सग्ला त बकाइनाका रूख पनि छैनन् । साल, साज, चाँप र सल्ला उहिल्यै सकियो । विरूवा त रोपिन्छ । भदौको घाममै मर्छ । कसले हेर्ने ? टेलिभिजन रोपेको देखाउँछ । मरेको देखाउँदैन, देखाओस् पनि कसरी ? मान्छे मरेको देखाउनमै अभ्यस्त छ । कलिला रित्ता सडकमा बढ्दो जाममा ट्रकले चेपिएका छन् । आमा भन्न पाउँदैनन् । विदेशमा भएका बूढालाई फोन गर्न हिँडेकी खिनौरी चेपाङ बाटोमै मरिन् । च्याँखेभीरबाट बस फाल हाल्यो । बाँचून् कसरी ? मर्ने त मरिगए । बाँच्नेलाई सकस । विदेशमा बूढाको कति पेट पोल्यो होला । तामाजस्तो छोरा घरमा टुहुरो । भोक र गरिबीमा कसले पाल्ने ? अन्ततः फेरि सडकमा । उही सडक बालक । बाउ आए पनि के गर्ने ? अर्को बिहे गरिहाल्छन् । छोरा अर्को जन्मन्छ । नियतिका नौ सिङ । निदाउँदा पनि ऐठनका पाङ्ग्राले यसरी पेल्छन्, गुडेर आफैँतिर आउँछ । मार्दैनन्, अपाङ्ग पार्छन् । खपिनसक्नुको पीडा । बाँच्नु नै पर्ने बाध्यता ।
विमानमा आउँछ एउटा चारकुने बट्टा । बट्टाभित्र हुन्छ लास । काठमाडौँमा दैनिक एउटा लास आउँछ विदेशबाट । गाउँलाई महिनाको एउटा भाग परेको जस्तै छ । दिनको एकजना विदेश जान्छन् । बाँचेकाहरू कम फर्कन्छन् । फर्के पनि कोही खुट्टा गुमाएर आउँछन् । कोही आँखा गुमाएर राम्चेकी एउटीले आउँदाआउँदै विमानमै छोरो पाई । तर छोराको छाला र अनुहार बिन लादेनजस्तो भन्थे छिमेकीहरू । मरेकाहरू महिनामा एकजनाबाट बढ्ने क्रम छ । शोकाकुलहरू बट्टामा लास बोकेर रुँदै ओहोरदोहोर गर्छन् । मन भाउन्न हुन्छ । बालबच्चा र बुढाबुढीकोे रुवाइले तन बुहारी झारझैँ फतक्क गल्छ । चैत—वैशाखको वसन्त पनि उराठलाग्दो । ३७ डिग्री तातो, ऋण गरेर कर्कटपाता गाउँभरि छाएर के गर्नु ? झन् हपहपी गर्मी । चिउरीडाँडाको धारो सुकेको छ । तल जरुवा कुवामा पनि पानी छैन । बाँच्नलाई कति गाह्रो छ । मर्न पनि त सजिलै छ । गाउँमा मान्छे मरेकै छन् । दुर्घटनामा पर्नै पर्दैन । नघुम्ने पङ्खामा सल घाँटीमा लगाएर पिङ खेल्नेको संख्या बढ्दो छ । पानीमा मुसा मार्ने धूलो घोलेर पिउनेहरू एफएमका हेडलाइनमा आएकै छन् । हप्तैपिच्छे टोलछिमेकमा आफैँलाई मार्नेहरू बढ्दैछन् । सँगै खाइखेली हुर्केका कप्टीहरू । मनका कुरा भन्नु नि ¤ सानो कुरामा ठूलो निर्णय । मर्ने पो
मरेर गए । बाँच्नेलाई पलपल रूवाएर । झण्डै १५ वर्षदेखि मकवानपुरको एउटा गाउँ स्याउलीबाङ यही नियति उग्राइरहेको छ । यही विवशताको सपाट तस्बिरमा स्याउलीबाङ र स्याउली गाउँका खबर पटकपटक स्थानीयदेखि राजधानीका अखबार, टेलिभिजन र अनलाइनमा छाइरहेको छ । स्याउलीबाङको कथा, खबरलाई सानातिना रिपोर्ट र तानाबानाले समेट्न सक्दैन । लाग्छ, स्याउलीबाङलाई मुलुकका चार हजार गाउँ विकास समितिसँग नै जोडेर एउटा चलचित्र बनाउँदा पनि हुन्छ, एउटा उपन्यास नै लेख्ने प्लट हो स्याउलीबाङ ।
क्रमश:
(पत्रकार रामकुमार एलनको प्रकाशोन्मुख उपन्यास 'स्याउली बजार' बाट)
No comments:
Post a Comment