शिवकुमार काशी
मनहरी/नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य काशिनाथ अधिकारीले पाहुनाका रुपमा विभिन्न पार्टीबाट निर्वाचनमा सहभागी हुन आएका उम्मेदवारलाई क्षेत्रका मतदाताले विदाई गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले ४ नं क्षेत्रीय निर्वाचन प्रचारप्रसार कार्यालयको उद्घाटन तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता अधिकारीले भूगोलका समस्या र सबालहरुको सही सम्बोधन गर्न भूगोलमै भिजेको नेताको जरुरत रहेको बताए । उनले भने, ‘बाहिरबाट ल्याइएका टुरिस्ट उम्मेदवारहरुबाट डाँडापाखाका सबालहरु नयाँ संविधानमा उठ्नेवाला छैन ।’ उनले डाँडापाखामा आधारभूत जनतासँग भिजेर जीवन बिताएका उम्मेदवारहरुले मात्र जनताका कुराहरु सुन्न सक्ने भएकाले सभासद छनौटमा अत्यन्तै ध्यान पु-याउनुपर्ने तर्क गरे । भने, ‘बिगतमा जस्तो गल्ती नेपाली जनताले अबको चुनावमा गर्ने छैनन् र गर्नु पनि हुँदैन ।’ कार्यक्रममा ४ नं क्षेत्रीय कमिटीका अध्यक्ष तथा उम्मेदवार राजाराम स्याङ्तानले एमालेकै नीति, एमालेकै नेतृत्व भन्ने नारालाई स्थापित गर्न आफू र आफ्नो पार्टी अघि बढेको धारणा ब्यक्त गरे ।
४ नं क्षेत्रीय उपाध्यक्ष हेमलाल उप्रेतीको सभाध्यक्षतमा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य ललित बस्नेत, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य एकराज उप्रेती, क्षेत्रीय इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य गोविन्द चेपाङ, २ नं क्षेत्रीय इन्चार्ज बिष्णु ढकाल, जिल्ला कमिटी सदस्य अनिल बानियाँ, कृष्णवहादुर चेपाङ, नवराज सुवेदी, भूमिनन्द अर्याल, बच्चुराम ढुंगानासहित क्षेत्रीय, जिल्ला, गाउँ तहका पार्टी सदस्य, शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।
यसैबीच पोलिट्ब्युरो सदस्य अधिकारी र केन्द्रीय सदस्य बस्नेतले पार्टीका क्षेत्रीय तहका कार्यकर्ताहरुलाई चुनावी प्रशिक्षण दिएका छन् । एमालेको नीति, एमालेकै नेतृत्व स्थापित गर्नका लागि भूमिका खेल्न अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइएको नेकपा एमाले ४ नं क्षेत्रीय कमिटीले जनाएको छ । प्रशिक्षणमा युवा संघ, अनेमसंघ, प्रेस चौतारी, जातीय मुक्ति समाज, अनेकिसंघ लगायतका अगुवा कार्यकर्ताहरुको सहभागिता थियो ।
No comments:
Post a Comment