“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Monday, September 2, 2013

साताको कविता - तुल्सी थापा

मकवानपुरे साहित्यका एक सशक्त हस्ताक्षरका रूपमा रहेका तुल्सी थापा (वि.सं. २००२)  कवि, नाटककार तथा कथाकार हुन् । उनका कविताहरूमा सूक्ष्मता, सूत्रात्मकता, व्यङ्ग्यको तीब्रता, सङ्क्षिप्तता, मिथकीयता, प्रतीकात्मकता, दार्शनिकता, समसामयिकता आदिजस्ता विशेषता पाइन्छ । पौराणिक र ऐतिहासिक कथ्यवस्तुलाई वर्तमानसँग तादात्म्य गराई व्यञ्जनामूलक शैलीमा अभिव्यक्त गर्ने प्रवृत्ति रहेका थापाको कविता यस अङ्कमा समेटेका छौँ ।

देशको गीत गाउँदा गाउँदै नहारोस् ऊ

देशको गीत गाउँदा गाउँदै
निदाएकालाई जगाउँदा जगाउँदै
त्यो मान्छे भुसुक्क निदाएछ ।

मिर्मिरे उज्यालोसँगै
उसको गीतमा
रिमरिम सन्ध्यासँगै
क्षितिज रङ्गाउँदै गुञ्जने
उसको गीतमा हिमालको उचाई
राराको गहिराई
पहाडको उकाली–ओराली
तराईँको हरियाली
नदीनालाको नागबेली
सबै सबै देखिन्थ्यो उसको गतिमा
उत्साह, उमङ्ग
जीवनका तरङ्ग
सबै सबै सुनिन्थ्यो उसको गीतमा
हो त्यही गीत, त्यही देशको गीत गाउँदा गाउँदै
निदाएकालाई जगाउँदा जगाउँदै
ऊ भुसुक्क निदाएछ ¤

उसको निन्द्रा
आमाको लोरी सुन्दा सुन्दै
निदाउने शिशुको जस्तो
शान्त सुसाइ थिएन
तारापुञ्जको आकाश ओढेकी धरतीको
आनन्दमय बिसाइ थिएन ¤
उसको निद्रा
सुनसान एकलास थियो
चकमन्न अत्यास थियो

उसको सु, अलापमा
हाम्रो आरोह अवरोह हुन्थ्यो
उसको धून तालमा
हाम्रो भाषा बोली हुन्थ्यो
उ गाउँथ्यो देशको गीत
कहिले मेचीबाट
कहिले कालीबाट

आह ¤ हाम्रा अशान्त विग्रहले
हाम्रा भ्रान्त विद्वेषले
कतै हामीले उसको गीत
बुझ्न छाड्याँै कि ?
कतै हामीले उसको गति
बेसुरमा गाउन थाल्यौँ कि ?
सायद ऊ थकित थियो
हुनसक्छ ऊ आजित थियो
र त देशको गीत गाउँदा गाउँदै
ऊ चुपचाप निदाएछ ।

देशको गीत गाउँदा गाउँदै थाकेको उसलाई
हुन्छ एकछिन सुस्ताउन देऊ
आÇनो विरक्तिएको भारी
एकछिन बिसाउन देऊ
कहाँ पाउन सक्यो र उसले
आफूले गीतमा गाएको जस्तो देश ?
कहाँ देख्न सक्यो र उसले
त्यस्तो देश
उसको गीत जस्तो देश
सुन्दर, शान्त, समृद्ध देश

देशको गीत गाउँदा गाउँदै
निदाएकालाई जगाउँदा जगाउँदै
त्यो नेपाली भुसुक्क निदाएछ ।

अब जगाउनै पर्छ उसलाई
उसकै गीत गाएर
भाषा मिलाएर
अब ब्युँझाउनै पर्छ उसलाई
उसकै धून बजाएर
लय, ताल मिलाएर
देशको गीत गाउँदा गाउँदै
नथाकोस् ऊ
देशको गीत गाउँदा गाउँदै
नहारोस् ऊ 
— स्मारकमार्ग, नवलपुर, हेटौँडा ११

No comments:

Post a Comment