रामकुमार एलन
लोर्के स्याङ्तानको घरमा उज्यालो छ । मइन्टोल नै बालेका छन् । आज खाल बस्नेको सङ्ख्या ठूलो छ तास, कौडा हान्नेको अखडा हो स्याङ्तानको घर । गजबको छ । गोठका ठूलो खोल्मामा पनि खेलेका छन् । घरमा बाहिर फल्याकमा एउटा खाल, पिँढीमा अर्को । भित्र अर्को । स्याङ्तानकी कान्छी छोरी म्हेन्दोले सबैलाई दुईमाने बोड्कोमा छिप्पेको जाँड खुवाउँछे । ठीकठीक भएपछि केटाहरू तास, कौडामा उत्रन्छन् । फौबन्जारीहरू फोकटमा बाघचाल पनि खेल्छन् । कोही छेउछाउमा बसेर ‘दहर फाल र नहर हाल’ भनेर निःशुल्क सल्लाह पनि दिन्छन् ।
लोेर्के स्याङ्तानकहाँ तासको खाल बस्ने, जुवा, कौडा खेल्ने गाउँकै हुन् । भँडारी, कार्की, थापा, तीनपिप्लेको ठकुरी, शाहीटारको बाबुकाजी । केही तामाङहरू पनि पछिल्लोपटक खालमा जम्न थालेका छन् । भाडा उठाएर लोर्केले घर धानेको छ । सातौँ बच्चा पाउन नसकेर बूढी च्यापुमाया मरेपछि लोर्केले यो काम थालेको हो । गाउँमा काम नपाएका राइनासेहरूलाई हल्लिने र बिग्रने अवसर भएको छ । तास, कौडाको लत बसाउन सफल छ लोर्के । खानपिनको व्यवस्था पनि गरिदिन्छ । सुत्नलाई के भो र ? निद्रा मीठो भएपछि गुुन्द्रीमै निदाउँछन् । त्यसमाथि तरूनी छोरी देखेर आउने पनि छन् । लोर्केकहाँ जुवातास खेलेर तीनचारदिन घर जान बिर्सने पनि छन् ।
मनहरी चौकीमा असईको दरबन्दी छ । लोर्केले असई फन्सुराम चौधरीसँग मीत लगाएको छ । कहिलेकहीँ मीत आउँछन् । लोर्के गाउँमा जान्छन् ।
‘नागा मुब कि?’ लोर्के कराउँछ ।
‘आरबगै, छम्मन लगुजे पोर्बगा ¤’ छिमेकीहरू भन्छन् ।
‘लिङ्स्या हावगा, ङादन कोर्नी नागा पाउ ¤’ लोर्केले कुरा खुस्कायो ।
‘नागाला फुम मुबा, पोरो साउजी ¤’ छिमेकीले भने ।
खल्तीबाट पैसा निकालेर लोर्के कुखुराको फुल किनेर अर्को घरतिर लाग्यो । उसलाई आज मीतलाई सगुन दिन लोकल कुखुरा चाहिएको छ । गाउँमा कुखुरा ठूलो हुन पाउँदैनन् । बालबच्चाको खर्चका लागि बिक्री भइहाल्छ ।
जसोतसो ओथारो बसेको र भर्खर चल्ला कोरलेका सुत्केरी पोथी भए पनि लोर्के खोजेर लैजान्छ । विचरा पुलिसलाई लोकल कुखुरा न चाहिएको हो सित्तैमा । उसलाई सुत्केरी र ओथारो बसेको के ज्ञान । मासु भनेर च्याउ दिए त थाहा नपाउने जात लोर्के ‘लिङ्स्या’ हाजी भन्दै लोकल कुखुराको झोल र कोदोको तीनपानेमा मीतलाई नुहाइदिन्छ । मीत आएको दिन उसकहाँ रातभरि नाचगान पनि हुन्छ । गाउँका ठिटीहरू मादल बजाएर नाच्छन् । पारि गाउँकी एउटी छे गीत गाउने । मिर्मिर आँखा र झ्याउरे भाकामा गीत गाउँछे रातभर । भन्छे, ‘रातभरि सँगै राख्यौ, जान्न अब घर म, कान्छी रानी बनाऊ राजा, हुन्न अब पर म ।’ गीतसँगै बारुले कम्मर भाँचेर नाचेपछि लोग्ने जातका ठेउकालाई के चाहियो । रात बितेको पत्तो हुन्न ।
गाउँमा शान्ति सुरक्षा छ भनेर असई चौधरी रिपोर्ट लिएर जान्छ । कोदोको
रक्सीले नछाडिसकेकोले छोरीहरू जिर्खेसम्म पु¥याउन जान्छन् मीत बालाई । लोर्केका पाँचवटा छोरी त पुलिसनी भइसकेका छन् । असई चौधरीका ठिटाहरूले लगे । त्यतिमात्र होइन । चौधरी सरूवा भएको वर्षौँ भयो । मनहरी खोला पनि कहिल्यै पचभैया यताबाट बग्छ कहिले उता छ्वाङ्गै मार्सानीको भट्टटी बस्न नदिने गरी पद्ये प्रधानको घरमुनि पुग्छ । कार्कीको खेत बगाउँछ । उसले अनेक रूप देखाए पनि लोर्केको कारोबार उस्तै
छ । लोर्केका छोरीहरू प्रहरीका भए । उमेरले हर्लक्क बढेका छोरीहरू मीतबालाई खोला तार्न जाँदा पुुलिस ठिटाहरू बिच्कन्छन्, पात्तिन्छन् । खोला तर्दा घाँघर माथि तान्नुपर्ने । कहिलेकहीँ त खोलाको जङ्घार नाइटोमाथि पुग्ने । अनि गाउँको चिसो पानीमा हुर्केका फूलजस्ता तामाङ्नी । बेइमानी मनहरी खोला, बेइमानी पुलिसको मन । अलिअलि बेइमानी लोर्के स्याङ्तान, तरूनी छोरीलाई खोला तार्न पठाउने ।
मनहरीको पानीमा घाँघर माथि सार्ने लोर्केका छोरी देखेर पुलिसका मन ठाउँमा बस्थेन मनहरी खोलाको भँगालोजस्तै । यो असई लामै बस्यो । गाउँमा यस्तै लोर्केहरू ‘मीता’ थिए । तलमाथि हिसाब बराबर ।
रमाइलो त यो भयो कि— चौधरीको सरूवापछि आएका लामिछाने, बुढाथोकी र अरुण शाह असई पनि लोर्केको मीत भयो । एवम् रीतले लोर्केको धन्दा निर्बाध चल्यो । पाँचवटा छोरीको पनि पुलिससँग बिहे भयो । छैठौँ छोरी हुन् म्हेन्दो । कान्छीलाई ‘च्याङ््माइ’ पनि भन्छन् गाउँघरमा । खासमा फूल जस्ती भएर तामाङ भाषामा नाम राखियो म्हेन्दोमाया । अरू दिदीले त पढेनन् । ऊ भने गाउँकै बनझाँक्री प्राविमा कक्षा ४ मा पढिरहेकी छे ।
क्रमश:
(पत्रकार रामकुमार एलनको प्रकाशोन्मुख उपन्यास 'स्याउली बजार' बाट)
No comments:
Post a Comment