“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Wednesday, October 2, 2013

प्रतिस्पर्धा एमाओवादीसंग हो, एमाले सुदृढ छ

रामेश्वर राना, नेकपा एमाले मकवानपुरका अध्यक्ष हुन् । सक्रिय रुपमा २०३८ सालबाट राजनीतिमा लागेका राना त्यसताका अनेरास्ववियू जिल्ला कमिटी मकवानपुरका उपाध्यक्ष थिए । २०४२ देखि २०४४ सालसम्म अनेरास्ववियूको केन्द्रिय सदस्य रहेका राना ४६ साल अघिसम्म नगर कमिटीमा थिए । २०४८ सालबाट जिल्ला कमिटी सदस्य भएका राना २०५१ सालमा पार्टी सचिव पनि भए । २०४९ सालमा जिविस सदस्य सम्हालेका राना २०५४ सालमा जिविस मकवानपुरका सभापति समेत भए । जिल्ला पार्टी अध्यक्षको दोस्रो कार्यकाल सम्हालिरहेका यिनै रानासँग राम अविकासले गरेको कुराकानी ।


 नेकपा–माओवादी चुनावमा सहभागी नहुने नै भन्दै छ, कत्तिको असहज बनाइदेला ?
    सबै राजनीतिक दल निर्वाचन नै अन्तिम विकल्प हो भनिरहेको समयमा सबै पक्ष निर्वाचनमा सहभागी हुने परिस्थिति सिर्जना गरिनुपर्छ भन्ने मान्यता हो । सबैको सहभागितामा नयाँ लोकतान्त्रिक संविधान निर्माण गरिनुपर्छ । यसका लागि केन्द्रीय तहमा पनि प्रयासहरु भैरहेका छन् ।
वैद्यपक्ष निर्वाचनमा सहभागी नहुँदा निर्वाचन नै नहुने पो हो कि भन्ने जनमानसमा रहेको आशङ्कालाई कसरी चिर्न सकिएला ?
    शान्तिपूर्ण बाटो रोज्नुको अन्य विकल्प रहन्न । लडाइँ र अशान्तिको बाटोबाटै सबै समस्याको निकास खोज्छु भन्नु अबको समयमा सम्भव छैन । २०६२÷०६३ को आन्दोलनले पनि शान्तिपूर्ण बाटो अपनाउनकै लागि दिशावोध गरेको छ । अहिलेको अवस्थामा मुलुकले लडाइँ व्यहोर्न सक्दैन । एकअर्काप्रति घातक हुने किसिमको वादविवाद गर्नुभन्दा पनि लोकतान्त्रिक मूल्यमान्यता अनुरुप आफ्ना मुद्दाहरुलाई जनतामाझमा राख्ने, एकअर्काका कुरा सुन्ने र त्यसबाट उपयुक्त बाटोलाई अख्तियार गर्नुपर्छ ।
उसोभए, वैद्यपक्षले निर्वाचन बिथोल्ने सम्भावना कत्तिको रहला ?
    यदि एकअर्काबीचको समझदारीलाई नमान्ने हो र आआफ्नो बाटो लाग्ने हो भने अनिष्ट हुन सक्छ । तर त्यो अनिष्टलाई टार्न सक्ने प्रशस्त सम्भावनाहरु अझै पनि
छन् ।
 चुनाव भैहाले पनि, एउटा राजनीतिक शक्ति बाहिरै रहेको अवस्थामा संविधान बन्न सक्ने सम्भावना पनि नरहन सक्छ नि ?
    जुन किसिमको जनादेश जनताले दिए त्यसलाई हामीले पूरा गर्न नसकेको अवस्थामा त्यसबाट शिक्षा लिँदै अब अगाडि बढ्नुपर्छ । त्यसबाट हामी कोही पनि विचलित हुनुहुँदैन र कोही पनि यो कार्यबाट बाहिर हुनुहुँदैन ।
मतदाताहरुसँगको प्रतिक्रिया चाहिँ कस्तो पाइराख्नुभएको छ ?
    हामी यसभन्दा अघि पनि निरन्तर सङ्गठनमा लागिरहेकै छौँ र संविधानसभा
गरिनुपर्छ भन्ने किसिमको सुझाव पनि हामीले पाइरहेका छौँ ।


आसन्न संविधानसभाको निर्वाचनमा नेकपा एमालेको अवस्था मकवानपुरमा के होला ?    एकीकृत नेकपा माओवादीले चारैवटा निर्वाचन क्षेत्रमा आफ्नो दाबी गरिरहेको छ, नेपाली काँग्रेसले कम्तिमा पनि मकवानपुरमा खाता खोल्छौँ भनिरहेको छ भने राप्रपा नेपालले पनि १ नं. क्षेत्रमा आफ्नो विजय सुनिश्चित गराउन कमल थापा आफैँ उठ्ने कुरा आइरहेको छ । यो हिसाबले मत बाँडिएला कि ?
    हामी भनेको प्रतिस्पर्धात्मक राजनीतिमा छौँ ।     जनता बीचमा आफ्ना कुराहरु लिएर जाँदा त्यसकिसिमको प्रतिस्पर्धा देखिन्छ । त्यसैका आधारमा हामीलाई मतदान गर्नुहोस् भनेर हामी शान्ति र लोकतान्त्रिक संविधानका कुरा लिएरै अगाडि बढिरहेका छौँ । शान्तिपूर्ण ढङ्गले प्रतिस्पर्धाको आधारमा, विधिको सर्वाेच्चताकै आधारमा मुलुक अगाडि जानुपर्छ भन्ने आधारमा ‘एमालेको नीति, एमालेकै नेतृत्व’ भन्ने मूल नाराका साथ हामी लागिरहेका छौँ । खासगरी निरङ्कुश राजतन्त्रका पक्षधर शक्तिहरु, जो असफल भएर पनि मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । त्यसैगरी उग्रवामपन्थ नीति लिएका एकीकृत नेकपा माओवादीका साथीहरु त्यसलाई छाडेर शान्तिपूर्ण राजनीतिको मूलधारमा आइसक्नुभएको छ । त्यस्तै, नेपाली काँग्रेसका नवउदारवादी नीति पनि असफल भएर उहाँहरु सामाजिक न्यायसहितको लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा आइसक्नुभएको छ । हामीले जनताको बहुदलीय जनवादको शान्तिपूर्ण मूल बाटोमा मुलुकलाई लिएर जाने भन्ने जुन निर्णय ग¥यौँ त्यो आधारमा हामी अगाडि छौँ । मुलुकमा विचारका चारवटा स्कुलहरुमध्ये तीनवटा त असफल भइसकेका छन् । खालि नेकपा एमालेको जनताको बहुदलीय जनवादको वैचारिक पाठशाला सर्वत्र स्थापित भएको अवस्था छ भने यस आधारमा पनि यस पटक हामी मुलुकको राजनीतिक नेतृत्व गर्ने पहिलो शक्तिको रुपमा संविधानसभामा उपस्थित हुनुपर्छ । हामीले जनआन्दोलनको उपलब्धिको रक्षा र परिवर्तनको सुदृढीकरणको कुरा, संविधानसभामा हिजो भएका सहमतिलाई लिएर अगाडि बढाउने कुरा र सामाजिक न्यायसहितको लोकतन्त्रका कुरा उठाएका छौं । विभेदमा परेकाहरुलाई संम्बोधन, बहुपहिचानसहितको सङ्घीयता, सामाजिक सद्भावसहितको राष्ट्रियता, राजनीतिक स्थायित्व र लोकतन्त्र सुदृढीकरण गर्ने शासकीय स्वरुप, सबल राष्ट्रियताका लागि आर्थिक समृद्धिसहितको राष्ट्रियरुपमा आठवटा विषयलाई हामी जनताका बीचमा लिएर जान्छौँ । त्यसैगरी जिल्लामा हिजो हामीले निर्वाचित भएर गरेका कामहरुमा हामीले थप भनिरहनु पर्दैन । हामीले हिजो ०४८ सालमा निर्वाचित हुँदा, ०४९ र ०५४ को स्थानीय निर्वाचनमा निर्वाचित हुँदा केके काम ग¥याँै भन्ने जनताका अघि छर्लङ्गै छ । यी सबैका आधारमा हामीलाई भूमिका दिनुहोस् र हामी त्यो भूमिका निर्वाह गर्छौँ भनेरै जनताका अगाडि हामी जान्छौँ । अन्य राजनीतिक शक्तिका विचारहरुको हामी राजनीतिक संस्कारकै रुपमा प्रतिवाद र खण्डन गरेर जान्छौँ ।
जनताले केन्द्रीयस्तरमा पहुँच भएका नेतृत्वको आशा गरिरहेका छन्। तपाइँहरुको प्रतिनिधित्वलाई जनताले कसरी हेर्लान् ?
    हिजोका दिनमा पनि केन्द्रीयस्तरका नेतृत्वसँगको प्रतिस्पर्धामा हामीले उनीहरुलाई
पराजित गरेका छौँ । त्यसैले राष्ट्रिय राजनीतिक कुन तहको नेता कहाँ उठ्यो भन्ने कुरा महत्वपूर्ण हुँदैन । पार्टीले राष्ट्रिय रुपमा उठाएका मुद्दा के छन्, राष्ट्रिय र स्थानीय तहमा उसले खेलेको भूमिका के छ ? भन्ने आधारमा दलका नेताहरुको आआफ्ना ‘प्रोटोकल’का प्रभाव केही मात्रामा होला तर दलले लिएको नीति र उठाएका मुद्दा निर्वाचनमा महत्वपूर्ण कुरा हो । यो आधारमा व्यक्तिको उपस्थितिको विषयलाई हामीले कहिले पनि गम्भीर रुपमा लिँदैनौँ । व्यावहारिक रुपमै पनि कमल थापाजस्ता व्यक्तिहरुलाई विगतमा हामीले पराजित गरिसकेको आधारमा म के कुरामा विश्वस्त छु भने परिणाम हाम्रो पक्षमा हुनेछ ।
 त्यसो भए व्यक्तिको व्यवहार, चरित्रले केही पनि फरक पार्दैन चुनावमा ?
    यहाँले भन्नुभएजस्तै व्यक्तिको चरित्र, उसले खेलिरहेका भूमिकाले निश्चित रुपमा प्रभाव पार्छ । तर व्यक्ति जुन पार्टीको प्रतिनिधित्व गरिरहेको छ, त्यो पार्टीले अङ्गीकार
गरेको दर्शन, नीति, सिद्धान्त र उसको पार्टीले समकालीन तथा हिजोको राजनीतिक वृत्तमा खेलेको भूमिका आदिका कारण व्यक्तिको प्रभावकारिता राजनीतिक अभ्यासमा प्रधान बन्न सक्दैन । यसपटकको मुद्दा भनेको निरङ्कुशतामा हामी फेरि पनि जान सक्दैनौ भन्ने नै हो ।
वीरबहादुर लामाको अनुपस्थितिमा २ नं.मा एमाले कमजोर त भएको हो ?
    स्वाभाविक रुपमा सँगै घरमा भएका सदस्य एकजना मात्र बाहिरिँदा पनि त्यो राम्रो भएको अवस्था होइन । उहाँहरु सबै घरमा आउनुहोस्, सँगै बसाँै भन्ने हाम्रो चाहना हो । तर घरमा बस्नै चाहनुभएन, घरका पनि केही मर्यादाहरु हुन्छन् त्यसलाई पालना गर्नै चाहनुभएन । यस विषयमा हुनसक्नेसम्मको प्रयत्न भएको हो । तर त्यसका बाबजुद पनि आफ्नो घरको परिस्थितिलाई बिग्रन नदिनका लागि जुन विषय उठाएर उहाँहरु बाहिरिनुभएको छ, त्यसलाई व्यवस्थित गरेरै लगिरहेका छौँ । उहाँहरुको रिक्ततालाई पूरा गर्नका लागि हामी सबै लागिपरेका छौँ र त्यस किसिमको नकारात्मक प्रभाव पर्न दिने छैनौँ ।
एमालेले कुन पार्टीलाई मुख्य रुपमा आफ्नो प्रतिस्पर्धीको रुपमा लिएको छ ?
    स्थान विशेषमा त्यो परिस्थिति फरक हुन सक्ला, तर अहिलेकै सन्दर्भमा हाम्रो मुख्य प्रतिस्पर्धा भनेको एकीकृत माओवादीसँग नै हो । मतदाता हुने सबै नागरिकहरु
राजनीतिक दलमा आवद्ध छैनन् त्यो सही कुरा हो । आफ्नै दृष्टिबाट हेर्दा सबैले आफूलाई बलियो देख्लान्, खेलमा जानेबेला कुनै पनि खेलाडी हार्नकै लागि भनेर त जाँदैन नि । तर हामीले उठाएका मुद्दा, सङ्गठन परिचालन र सुदृढीकरणका हिसाबले जनताका माझमा हामी आफ्नो सुदृढ उपस्थिति देखाउँछौँ र त्यो सुदृढ उपस्थिति भनेको विजय नै हो ।
काँग्रेसले खाता खोल्ने विषयमा चाहिँ के भन्नुहुन्छ ?
    हैन, त्यो उहाँहरुको विषय हो, त्यसबारेमा म केही टिप्पणी गर्न चाहन्नँ । हामीले आफूलाई अगाडि उभ्याउने हो, उहाँहरुले के भन्नुहुन्छ भन्ने कुराले खासै महत्व
राख्दैन । 
विगतमा गुमाएको चारै सिट फिर्ता गर्न सक्ने खालको एमालेको एजेण्डा चाहिँ के छ ?
    हामीले उठाउने मूल विषय भनेको राष्ट्रियस्तरमा उठाइने राष्ट्रियता, लोकतन्त्र र संविधान नै हो । मकवानपुरका सन्दर्भमा पनि राष्ट्रिय भूमिकालाई पूर्ण निष्ठा र इमानदारिताका साथ निर्वाह गर्छौँ भन्ने नै हो । तर यसबीचमा प्रतिनिधिसभाको पनि भूमिका रहने भएकाले स्थानीय निकाय नभइरहेको अवस्थामा यहाँका विकास निर्माण, सरोकारका विषय, अन्य विभिन्न क्षेत्रमा देखिएका चुनौतिहरुका विषयमा हामीले आफ्नो उपस्थिति देखाउँछौँ । राष्ट्रिय सरोकारसँग गाँसिएका सुरुङ्गमार्ग, द्रुतमार्ग लगायतका विषयहरु, वृहत हेटौंडा, गाउँ र नगरको अन्तरसम्बन्धलाई विस्तार गर्ने सडक सञ्जालका विषयहरु, विभिन्न उद्योगहरुमा आउने समस्याका विषयहरु लगायत सुदूर भविष्यसँग गाँसिएका कुराहरुलाई हामीले उठाउँछौँ । जिल्लाको विशिष्टता र प्रधानताका सन्दर्भमा यी विषयहरुलाई लिएरै हामी अगाडि बढ्छौँ ।
सबै दलले भन्ने कुरा उस्तै भए, एमालेको प्राथमिकता चाहिँ के हो ?
    स्थानीय, क्षेत्रीय र जिल्ला तहमा हामीले गर्नुपर्ने कामहरु छन् । १ नं. क्षेत्रकै कुरा गर्ने हो भने त्यहाँ चुरेक्षेत्र संरक्षणको काम प्रमुख छ । सडक सञ्जाल र प्राथमिक स्वास्थ्यको क्षेत्रलाई व्यवस्थित गर्ने कुरा छ । यी विषयहरुलाई निर्वाचनको बेला हामी सूत्रबद्ध ढङ्गले उठाउँछौँ । मूलतः सामाजिक हिसाबले केन्द्रित भएर उठाउँछौँ । युवासँग जोडिएका मुद्दाहरु छन्, त्यस्तै विकाससँग जोडिएका कुराहरुलाई क्षेत्रगत रुपमा हामी उठाउँछौँ । समावेशी सवालहरु पनि छन् हामीले उठाउनुपर्ने । ०४९ र ०५४ को स्थानीय निर्वाचनकै कुरा गरौँ, त्यतिबेला हामीले निर्वाचन क्षेत्र नं. ४ मा दामन–डाँडाखर्क हुँदै खैराङ जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखिनुपर्छ भन्यौँ । जिल्ला विकास समितिको आवधिक योजना तर्जुमा भयो र जिल्लाको यातायातको गुरुयोजना तर्जुमा भयो । आज खैराङको नजिक नजिक सडक पुगेको छ भन्दा हामी सबै मकवानपुरेले गर्व गर्ने ठाउँ छ । यसरी देखिने गरी नै हामी विकास निर्माणका कामहरुलाई अगाडि बढाउँछौँ । २ नं. क्षेत्रमा पर्यटन र नगदे बालीका कुराहरु छन् । त्यस्तै ३ नं. मा हेटौंडा अस्पतालको विषय ज्वलन्त छ, त्यस्तै बृहत हेटौंडा र बाइपासका कुरा छन् । हेटौँडालाई आर्थिक केन्द्रको रुपमा विकास गर्ने विषयहरु छन् यसलाई सबैको सरोकारका विषयहरुलाई ध्यानमा राख्दै हामी आफ्ना मुद्दाहरु उठाउँछौँ ।
अन्य दलले आफ्ना उम्मेदवारको सूची तयार गरिसकेको छ, एमालेचाहिँ आन्तरिक विवादमा फसेको हो ? 
    त्यस्तो केही होइन, हामी खाली आफ्नो नियमित प्रक्रियामा छौँ । यी सबै प्रक्रियाहरु पूरा गरेर भदौ २० गतेभित्र हामी अञ्चल कमिटि हुँदै केन्द्रीय कमिटीमा लिस्ट पु¥याइसक्छौँ । एउटा हाम्रो परम्परा के हो भने जुन कुरा संस्थागत भइसकेको छैन त्यो कुरा बाहिर आउँदैन । तर हामी उम्मेदवार छनौटको प्रक्रियामा चाहिँ अघि बढिसकेका छौँ ।
जिल्लामा एमालेभित्र टिकट पाउने लाइनमा थुप्रै नेताहरु छन् , कसरी मिलाउनुहुन्छ सबैलाई ?
    सही हो, हामीसँग भूमिका निर्वाह गर्नसक्ने क्षमता राख्ने कामरेडहरु प्रशस्त हुनुहुन्छ । तर छनौट हुने भनेको त प्रत्यक्षतर्फ चारैवटा निर्वाचन क्षेत्रबाट एकएक जना मात्र
हो । त्यसो हुनाले सिफारिस भएर जाने प्रक्रिया सहज ढङ्गले जान्छ । केन्द्रीय कमिटिबाट जे निर्णय भएर आउँछ, त्यो नै वास्तविकता हुनेछ । अब अघिल्लो पटक निर्वाचनमा उम्मेदवारहरु नै दोहोरिने वा नदोहोरिने भन्ने कुनै कुरा छैन । सिफारिस भएर जाने सन्दर्भमा तोकिएको मापदण्डका आधारमा सिफारिस भएर जान्छ ।
अघिल्लो पटकको संविधानसभाको निर्वाचनमा विशेषगरी महिला नेतृत्वबाट तीव्र असन्तुष्टि व्यक्त भयो, महिलालाई उपेक्षा गरियो भन्ने कुरा आए । यसपटक उहाँहरुलाई प्राथमिकता दिएर अघि बढ्ने भन्ने केही छ ?
    यसपटक केन्द्रबाट प्रत्यक्षतर्फ एक महिलासहित तीन र समानुपातिक तर्फ समावेशी रुपमा महिला, दलित, जनजाती लगायतका कुराहरुलाई मिलाएर सिफारिस गर्नु भन्ने नै निर्देशन छ । सिफारिस गर्ने सवालमा यी सबै कुराहरुको आधारमा नै सिफारिस भएर जाने हो । त्यसमा केन्द्रले पनि जिल्लाको विशिष्टताका आधारमा नै अन्तिम निर्णय गरेर पठाउँछ । केन्द्रले अन्तिम निर्णय पठाउँदा विगतको जस्तो समस्या नदेखिने गरी निर्णय गर्नेछ भन्ने विश्वासका साथ नै हामीले पनि जिल्लामा आफ्नो भूमिका निर्वाह गरिरहेका छौँ ।


४ नं. क्षेत्रमा त तपाइँ पक्का उठ्नुहुन्छ होला, के छ योजना ?
    हैन, पक्का भन्ने त्यस्तो केही छैन । जिल्लाको नेतृत्व लिएका हिसाबले चारैवटा निर्वाचन क्षेत्रमा पार्टीको बलियो उपस्थिति जनाउनका लागि मेरो भूमिका महत्वपूर्ण
रहन्छ । तर अब उम्मेदवारीकै सवालमा चाहिँ क्षेत्रबाट निर्णय भएर आएको
सिफारिसका आधारमा केन्द्रीय कमिटिले निर्णय गरेपछि मात्रै केही भन्न सकिन्छ । हामीहरु मध्ये जो उठे पनि पार्टीको सम्पत्ति हो । खेलमा पहिलो हुने भनेको टिमवर्क
हो । गोल मैले नै गराँै भन्ने सबैको चाहना हुन्छ तर टिमले जित्ने भनेको त सबैको पहलबाट नै हो । त्यो वातावरण हामी बनाउँछौँ । व्यक्ति को हुने भन्दा पनि पार्टीले जित्नुपर्छ भन्ने प्रमुख हो । ४ नं. का १२ वटा गाविसहरुमा आग्रा भनेको महाभारत माथिको लेक, त्यसपछि हाँडीखोलाको चुरिया । यो मात्र यस्तो क्षेत्र हो जहाँ
चुरियादेखि महाभारतसम्मको भूभाग समेट्छ । यहाँको भूबनौटको आधारमा पनि जनताले भोगिरहेका समस्याहरु हाम्रा मुद्दा हुन् । त्यसकारण चुरे संरक्षणका मुद्दा, यहाँका नदीनालाले पारेको प्रभाव र त्यसको समाधानका लागि तटबन्धन लगायतका विषयहरु हाम्रा मुद्दाहरु हुन् । त्यस्तै चेपाङ, वनकरिया लगायतका सीमान्तकृत, लोपोन्मुख आदिवासी जनजातिका मुद्दाहरु पनि हामी उठाउँछौँ । त्यसैगरी सडक सञ्जालका विषय पनि हाम्रा प्रधान विषयहरु रहन्छन् । 
३ नं. मा चाहिँ उम्मेदवार चयन गर्न गाह्रो हुने भयो है?
    हो, हामी धेरै दावेदारहरु छौँ । राजनीतिक रुपमा हामी समृद्ध पनि छौँ । यो विषयमा चाहिँ माथिबाट तोकेर पठाएको मापदण्डकै आधारमा हामी सिफारिस गरेर पठाउँछौँ । यसबीचमा पहुँचको विषयमा आन्तरिक पहँुच र बाह्य पहँुचकाकुराहरु पनि छन् । यसमा संस्थागत पहुँच नै मुख्य कुरा हो, व्यक्तिगत भेटघाटभन्दा पनि पार्टीको उम्मेदवारी चयनका विषयमा त्यस्तो प्रभाव नपर्ने विषयमा ढुक्क हुन अनुरोध गर्छु ।

No comments:

Post a Comment